२५ भाद्र २०८३, बिहीबार
,
Latest
एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो



अ+ अ-

चीन। पश्चिमा शक्तिहरूले चीनसँगको आर्थिक निर्भरता घटाउने (डि-रिस्किङ) बहस चर्काइरहेकै बेला विश्वका बहुराष्ट्रिय कम्पनीहरूको रोजाइ भने फेरि पनि चिनियाँ बजार नै बन्न पुगेको छ।

चीनको तटीय व्यापारिक सहर सियामेनमा जारी २६ औँ ‘चीन अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला’ (सीआईएफआईटी) मा १२९ देशका लगानीकर्ताहरूको बाक्लो जमघटले विश्व पुँजीको वास्तविक गन्तव्य अझै पनि चीनतर्फ नै सोझिएको प्रस्ट सन्देश दिएको छ।

यो आकर्षण केवल औपचारिक भेलाको रौनक वा कूटनीतिक औपचारिकतामा मात्र सीमित छैन। चिनियाँ वाणिज्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले विश्वव्यापी आर्थिक मन्दीका बीच पनि चीनमा विदेशी लगानीको ओइरो कायमै रहेको पुष्टि गर्छ।

सन् २०२६ को पहिलो सात महिनामै चीनमा ३७ हजार ७ सयभन्दा बढी नयाँ विदेशी उद्योग-प्रतिष्ठान दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४.४ प्रतिशतको वृद्धि हो। त्यसैगरी, चालु वर्षको ६ महिनाभित्र झण्डै ४ हजार ८ सय पुराना बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो पुँजी थप विस्तार गरेका छन्। विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताका बाबजुद विदेशी लगानीको ग्राफ यसरी उकालो लाग्नुले लगानीकर्ताहरूको मनोविज्ञान छर्लङ्ग पार्छ।

यद्यपि, चीन पस्ने विदेशी पुँजीको स्वरूप भने विगतको भन्दा आधारभूत रूपमै बदलिएको छ। हिजो सस्तो श्रम र न्यून उत्पादन लागतको फाइदा उठाउन चीनलाई केवल ‘उत्पादन कारखाना’ (म्यानुफ्याक्चरिङ हब) बनाउने बहुराष्ट्रिय कम्पनीहरू आज रणनीतिक रूपमै फेरिएका छन्। उनीहरू अब सस्तो मजदुरको भरमा होइन, उच्च मूल्य अभिवृद्धि (भ्यालु-ड्रिभन), उच्च प्रविधि र गुणस्तरीय जनशक्तिको खोजीमा चीन आइरहेका छन्।

युएस-चाइना बिजनेस काउन्सिलका अध्यक्ष सिन स्टेन विदेशी कम्पनीहरूको यही बदलिँदो दृष्टिकोणलाई औँल्याउँदै भन्छन् “अब सस्तो अर्थतन्त्र देखेर कसैले चीन रोज्दैन। विदेशी कम्पनीहरू यहाँ भइरहेको तीव्र गतिको नवप्रवर्तन सिक्न, अनुसन्धान गर्न र यहाँको उच्च दक्ष जनशक्तिसँग सहकार्य गरेर विश्वबजारमै प्रतिस्पर्धी बन्न आइरहेका छन्।” अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिहरूको अनुभवमा पनि विदेशी कम्पनीहरू पहिला चीनमा ‘उत्पादन’ गर्न आए, पछि सामान ‘बिक्री’ गर्न थाले र अहिले ‘अनुसन्धान र आविष्कार’ मा चिनियाँ साझेदारसँग सहकार्य गरिरहेका छन्।

विश्वका धेरैजसो अर्थतन्त्रका लागि चीनलाई नजरअन्दाज गर्नु भनेको आफ्नै प्रतिस्पर्धी क्षमता गुमाउनुसरह बनेको छ। फिनल्यान्डको आर्थिक मामिला मन्त्रालयका उपमहानिर्देशक जिर्की अल्किओ चिनियाँ बजारको रूपान्तरण गतिलाई ‘अविश्वसनीय’ मान्दै यो मञ्चबाट बाहिरिनु भनेको विश्वव्यापी व्यापारको दौडबाटै पछाडि पर्नु भएको तर्क गर्छन्। मलेसियाली लगानी विकास प्राधिकरण (मिडा) की लगानी अधिकृत मे ट्यानको बुझाइमा पनि बजारको गहिराइ, डिजिटल कनेक्टिभिटी र विशाल आकारका हिसाबले चीनसँग तुलना गर्न सकिने अर्को कुनै वैकल्पिक बजार विश्वमा उपलब्ध छैन।

भूराजनीतिक अस्थिरताका बीच लगानीकर्ताहरूलाई तानेको अर्को महत्त्वपूर्ण पक्ष ‘नीतिगत निरन्तरता र राजनीतिक स्थिरता’ हो। पश्चिमा मुलुकहरूमा हुने सत्ता फेरबदल र नीतिगत अन्योलका तुलनामा चीनले आर्थिक खुलापन र विदेशी लगानी सुरक्षाका सन्दर्भमा देखाएको दीर्घकालीन दृढताले लगानीकर्तामा गहिरो आत्मविश्वास भरेको छ। विगत २३ वर्षदेखि निरन्तर यस लगानी मेलामा सहभागी हुँदै आएको दक्षिण चीनस्थित अमेरिकी वाणिज्य चेम्बरका सदस्यहरूले मात्रै यहाँ हरेक वर्ष २ अर्ब डलरभन्दा बढी नयाँ लगानी थपिरहनु यसैको प्रत्यक्ष प्रमाण हो।

विश्व राजनीतिको सतहमा चीनसँग जतिसुकै भूराजनीतिक तिक्तता र शीतयुद्धकालीन ध्रुवीकरण देखिए पनि आधुनिक प्रविधि, विशाल बजार र सुरक्षित प्रतिफलको खोजीमा हिँडेको विश्व पुँजीका लागि चीन अझै पनि निर्विकल्प ‘चुम्बक’ बनिरहेको छ।