काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने भएको छ।
खराब मौसम, प्राविधिक समस्या तथा उम्मेदवार र मतदाता धेरै भएकाले मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान शुक्रबार बिहानका लागि सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। उनका अनुसार मतदान बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
कटुवालले साँझबाट मतदान सुरु गर्दा राति अबेरसम्म मतदान गर्नुपर्ने अवस्था आउने र त्यसले महाधिवेशन प्रतिनिधिलाई असहज हुने भएकाले बिहानबाट मतदान गर्ने निर्णय गरिएको बताए। उनका अनुसार महाधिवेशनमा ७ हजार ३ सय १७ प्रतिनिधि रहेकोमा मतदानमा ७ हजार २५५ जना प्रतिनिधि सहभागी हुनेछन्।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको बताए। मतपत्रको संख्या धेरै भएकाले आफू सहित ३२ जना वरिष्ठ अधिवक्ताले मतपत्रमा हस्ताक्षर गरिरहेको उनले जानकारी दिए।
महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको शुक्रबारको होटल बसाइँ र खानाको खर्च पार्टीले नै व्यहोर्ने भएको छ। आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानाको खर्च पार्टीले व्यहोर्ने जानकारी दिए।
निर्वाचन समितिले प्रतिनिधिहरूको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ। बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्। कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि खुलामञ्चको मतदान केन्द्र ‘ख’ तोकिएको छ।
त्यस्तै, गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हल, मधेश प्रदेशका प्रतिनिधिले तराई–मधेस हल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले पहाड हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ।
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिले आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा पुग्नुपर्नेछ। मतदानअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने पनि समितिले जनाएको छ।
यसअघि नै उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।
शुक्रबार हुने मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयन हुनेछन्। मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ। कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गर्दै केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन्।
सभापतिसहित प्रमुख पदमा प्रतिस्पर्धा रहेकाले शुक्रबारको मतदानलाई कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।








