काठमाडौं । नेपाल वायुसेवा निगम उच्च ब्याजदर र सरकारी निकायबाट उठ्न बाँकी करोडौँ रुपैयाँका कारण आर्थिक संकटमा परेको निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बताउनुभएको छ।
सोमबार संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा कालाखेतीले निगमको आम्दानीको ठूलो हिस्सा ऋणको ब्याज तिर्नमै खर्च भइरहेको भन्दै तत्काल वित्तीय सुधार आवश्यक रहेको बताउनुभयो।
उहाँका अनुसार निगमले राष्ट्र प्रमुखको विदेश भ्रमण, कोभिड–१९ महामारीका बेला गरिएको उद्धार तथा औषधि ढुवानी र विभिन्न मुलुकमा गरिएको उद्धार उडानबापत नेपाल सरकारबाट १३ करोड ७५ लाख रुपैयाँ लिन बाँकी छ। यसमध्ये सन् २००५ को भ्रमणबापत ४ करोड २७ लाख, कोभिडकालीन औषधि ढुवानीबापत १ करोड ५४ लाख, पाकिस्तानको बाढी उद्धार उडानबापत १ करोड १४ लाख र इजरायल उद्धार उडानबापत ५ करोड ७८ लाख रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयो।

सरकारी निकायलाई पटक–पटक पत्राचार गरे पनि बक्यौता रकम भुक्तानी हुन नसक्दा निगमको नगद प्रवाहमा समस्या परेको कालाखेतीको भनाइ छ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमा क्रमशः ९.२५ प्रतिशत र १०.५ प्रतिशत ब्याज तिर्दै आएको छ। कालाखेतीले ब्याजदर घटाउन वा ऋण पुनर्संरचना गर्न सके निगमलाई नाफामा लैजान सहज हुने दाबी गर्नुभयो।
उहाँका अनुसार निजी बैंकहरूले तुलनात्मक रूपमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने प्रस्ताव गरे पनि सञ्चय कोषको ऋणसम्बन्धी सर्तका कारण निगमले त्यस्तो विकल्प रोज्न सकेको छैन। सञ्चय कोषको ऋण चुक्ता गरेपछि मात्र अन्य वित्तीय संस्थाबाट ऋण लिन सकिने प्रावधानका कारण निगमले महँगो ब्याज तिर्नुपरेको उहाँले बताउनुभयो।
‘नेपाल वायुसेवा निगमको मुख्य समस्या महँगो ब्याजदर, ठूलो ऋण दायित्व र विगतका सुधारसम्बन्धी प्रतिवेदन कार्यान्वयन नहुनु हो,’ कालाखेतीले भन्नुभयो, ‘ऋण पुनर्संरचना, ब्याजदर घटाउने, सरकारी सहयोग र व्यवस्थापन सुधार आवश्यक छ। ब्याज खर्च घटाउन सकिए निगमलाई नाफामूलक बनाउन ठूलो सहजता हुन्छ।’
विगतमा निगम सुधारका लागि गठन भएका विभिन्न अध्ययन समितिले दिएका सुझाव कार्यान्वयन हुन नसकेकोप्रति पनि उहाँले असन्तुष्टि जनाउनुभयो। निर्णय गर्ने तहमा रहेका व्यक्तिहरू नै पछि ती निर्णय कार्यान्वयनमा उदासीन हुँदा निगम सुधारको प्रक्रिया थप जटिल बनेको उहाँको भनाइ थियो।







