काठमाडाैँ । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टी आन्दोलनका क्रममा शिक्षा, जीविका वा अवसर गुमाएका शहीद, द्वन्द्वपीडित तथा घाइतेका परिवारलाई लक्षित गर्दै १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने प्रस्ताव अघि सारिएको छ।
सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पार्टीका लागि योगदान गरेका योद्धा तथा उनीहरूका परिवारप्रति संस्थागत जिम्मेवारी बहन गर्ने उद्देश्यले यस्तो कोष स्थापना गर्ने उल्लेख गरिएको हो।

प्रस्तावअनुसार कोषबाट सम्बन्धित परिवारका सदस्यको शिक्षा र स्वास्थ्यमा सहयोग गरिनेछ। कोषको रकम पारदर्शी ढंगले संकलन तथा सञ्चालन गर्नुका साथै नियमित लेखापरीक्षणको व्यवस्था गरिने कांग्रेसले जनाएको छ।
यसैगरी, सामाजिक तथा राष्ट्रिय सरोकारका विषयमा पार्टीलाई नागरिकसँग प्रत्यक्ष जोड्ने उद्देश्यले ‘राष्ट्रिय सरोकारका लागि नेपाली कांग्रेस (एनसी फर एनसी)’ अभियान सञ्चालन गर्ने प्रस्ताव पनि अघि सारिएको छ।
कांग्रेसले जातीय विभेद, बालविवाह, लैंगिक हिंसा, भ्रष्टाचार तथा सामाजिक असमानताविरुद्ध काम गर्नु आफ्नो राजनीतिक जिम्मेवारीका रूपमा अघि बढाउने प्रस्तावमा उल्लेख गरेको छ।







