१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी

जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी

जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी
अ अ+ अ-

काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैसीले जलवायु परिवर्तनका कारण बाढी तथा पहिरोको जोखिम बढ्दै गएकाले सडक तथा पुल निर्माणको परम्परागत मापदण्ड पुनरावलोकन गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

नेपाल पूर्वाधार पत्रकार समाजले सोमबार राजधानीमा आयोजना गरेको ‘बाढी–पहिरोले सडक पूर्वाधारमा गरेको क्षति र अबको पुनर्निर्माण’ विषयक कार्यक्रममा उहाँले जलवायु परिवर्तनअनुकूल हुने गरी सडक तथा पुलका संरचनाको डिजाइन र निर्माण मापदण्ड परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

महानिर्देशक जैसीका अनुसार अब पुल निर्माण गर्दा बाढीको जोखिम, पुलको उचाइ, पियरको संरचना तथा बाढीसँगै बगेर आउने ढुंगा, माटो, लेदो र अन्य वस्तुबाट हुने ‘डेब्रिस फ्लो’लाई समेत डिजाइनमा समेट्नुपर्ने अवस्था आएको छ । महत्वपूर्ण पुलका हकमा इन्जिनियरिङमा प्रयोग हुँदै आएको १०० वर्षको ‘रिटर्न पिरियड’समेत पुनरावलोकन गर्नुपर्ने उहाँले बताउनुभयो ।

“१०० वर्षको रिटर्न पिरियड भन्नाले १०० वर्षपछि मात्रै बाढी आउने भन्ने होइन, त्यो भोलि नै पनि आउन सक्छ । यो एउटा सांख्यिकीय शब्द हो,” जैसीले भन्नुभयो, “त्यसैले महत्वपूर्ण पुलहरूमा यसको मापदण्ड पुनरावलोकन गर्नुपर्ने देखिएको छ ।”

उहाँले अधिकतम पानीको सतहलाई आधार मानेर निर्धारण गरिने ‘फ्री बोर्ड’ र सडक तथा पुल निर्माणमा प्रयोग भइरहेका डिजाइन कोडसमेत जलवायु परिवर्तनअनुकूल बनाउनुपर्ने बताउनुभयो ।

पछिल्लो बाढीबाट एउटा पुलको पियरमा ठोक्किएको संरचना अर्को पुलसम्म पुगेर क्षति पुर्‍याउने नयाँ जोखिम देखिएको उहाँले बताउनुभयो । यस्तो जोखिमको यसअघि परिकल्पना नगरिएको भन्दै जैसीले आगामी दिनमा पुल निर्माण गर्दा त्यसलाई समेत डिजाइनमा समेट्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको भौगोलिक अवस्थाका कारण पुलको बीचमा पियर राख्नु जोखिमपूर्ण देखिएको उहाँको भनाइ छ । बाढीले ढुंगा–मुढा बगाएर ल्याउँदा पियरमा ठक्कर दिने भएकाले अब पियररहित र लामो स्पान भएका पुल निर्माणतर्फ जानुपर्ने उहाँले बताउनुभयो ।

“हामीले अहिलेसम्म पानी मात्रै बग्छ र पानीले मात्रै संरचनामा असर गर्छ भनेर डिजाइन गर्दै आएका थियौँ । अब पानीसँगै ढुंगा, माटो, लेदो तथा अन्य वस्तु मिसिएर आउने डेब्रिस फ्लोले पुल, पियर र अन्य संरचनामा क्षति पुर्‍याउने देखिएको छ,” उहाँले भन्नुभयो ।

जैसीले लामो स्पानका पुल निर्माण गर्ने निर्णय मात्रै पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक प्राविधिक ज्ञान, दक्ष जनशक्ति, ज्ञान आदान–प्रदान र पूर्वतयारीसमेत विकास गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, महत्वपूर्ण पूर्वाधारमा वैकल्पिक व्यवस्था अर्थात् ‘रिडन्डेन्सी’ सुनिश्चित गर्नुपर्ने आवश्यकता पछिल्ला विपद्बाट देखिएको उहाँले बताउनुभयो । एउटा मात्रै पुल वा सडकमा निर्भर जिल्ला सदरमुकाम विपद्का बेला सम्पर्कविहीन हुन सक्ने भएकाले ७७ वटै जिल्ला सदरमुकामलाई कम्तीमा दुई वा तीनवटा वैकल्पिक मार्गबाट जोड्ने गरी पूर्वाधार विकास गर्नुपर्ने उहाँको भनाइ छ ।

त्रिशूली नदीमा माथिदेखि तलसम्म २२ वटा पुल निर्माण भए पनि तीमध्ये कुन रणनीतिक रूपमा महत्वपूर्ण छन् र तिनको वैकल्पिक व्यवस्था कति छ भन्ने विषयमा पुनर्विचार गर्नुपर्ने उहाँले बताउनुभयो । बेनीको मालढुंगास्थित आर्च ब्रिजको एप्रोच सडक बाढीले काटिएपछि वैकल्पिक मार्ग निकै लामो र घुमाउरो भएको उदाहरण दिँदै उहाँले त्यसबाट पनि पूर्वाधारमा पर्याप्त रिडन्डेन्सीको आवश्यकता देखिएको बताउनुभयो ।

यसैगरी, बदलिँदो विपद् जोखिम व्यवस्थापनका लागि सडक विभागमा छुट्टै ‘डिजास्टर युनिट’ स्थापना गर्नुपर्ने आवश्यकता रहेको महानिर्देशक जैसीले बताउनुभयो । विपद्का बेला महानिर्देशक वा उपमहानिर्देशकले मात्र व्यवस्थापन हेर्नेभन्दा संस्थागत र व्यवस्थित प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ ।

“सधैँ महानिर्देशक, उपमहानिर्देशकहरूले मात्रै हेरेर हुँदैन । त्यसका लागि एउटा व्यवस्थित प्रणाली नै चाहिने भयो । त्यसकारण योजना र डिजाइनमै डिजास्टर युनिट राख्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ,” जैसीले भन्नुभयो ।