ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँचका क्रममा तरकारी (बन्दाकोपी) बोकेको ना ७ ख १८२५ नम्बरको ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पुष्पराज मल्लका अनुसार गाँजासहित ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा धनकुटाका चालक राजु राई र सहचालक सन्दीप राई रहेका छन्।

प्रहरीका अनुसार उक्त ट्रक धनकुटाको हिलेबाट तरकारी लोड गरी इनरुवासम्म आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तरकारीको आडमा गाँजा तस्करी गरिएको आशंका गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
एसपी मल्लले नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि अनुसन्धान गरी गाँजा तस्करीमा संलग्न अन्य व्यक्तिसम्म पुग्ने प्रयास भइरहेको जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







