१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय

यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय
अ अ+ अ-

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)बाट ८ अर्ब ५ करोड २२ लाख ५७ हजार १५ रुपैयाँ ७६ पैसा बक्यौता असुल गर्ने निर्णय गरेको छ ।

प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरी भदौ महिनामा भएका महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै यूटीएलको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र २०८३ भदौ २० गतेदेखि स्वतः रद्द भएको जानकारी दिएको हो ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार दूरसञ्चार ऐन, २०५३ र दूरसञ्चार नियमावली, २०५४ बमोजिम अनुमतिपत्र रद्द भएपछि यूटीएलले नेपाल सरकार तथा प्राधिकरणलाई तिर्न बाँकी फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषलगायत विभिन्न शीर्षकको रकम सरकारी बाँकीसरह असुल गर्ने निर्णय भएको छ ।

प्राधिकरणले यूटीएलको सम्पूर्ण चल–अचल सम्पत्ति, दूरसञ्चार पूर्वाधार, प्रणाली तथा सञ्जाल नियन्त्रणमा लिई मूल्य निर्धारणको प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ । यस्तै, यूटीएलको बैंक खाता तथा चल–अचल सम्पत्ति रोक्का राख्न नेपाल राष्ट्र बैंक, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरिएको अर्यालले जानकारी दिनुभयो ।

एनसेललाई सम्पत्ति हस्तान्तरणको कार्ययोजना बुझाउन निर्देशन

प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई पनि अनुमतिपत्र अवधि समाप्त भएपछि सम्पत्ति हस्तान्तरणसम्बन्धी कार्ययोजना बुझाउन निर्देशन दिएको छ ।

एनसेलको मोबाइल सेवाको २५ वर्षे अनुमतिपत्र अवधि २०८६ जेठ १६ गते समाप्त हुने भएकाले ‘अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवाप्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९’ पूर्ण रूपमा पालना गर्न निर्देशन दिइएको हो ।

प्राधिकरणले समयमै सम्पत्ति हस्तान्तरणको कार्ययोजना पेस गर्न एनसेललाई निर्देशन दिएको र नियमावलीको व्यवस्था पालना नगरे थप कानुनी प्रक्रिया अघि बढ्ने जानकारी गराएको छ ।

यसैबीच, प्राधिकरणले फाइभजी कार्यान्वयनका लागि तयार पारिएको ‘नेपाल्स रोड टु फाइभजी’लाई अन्तिम रूप दिन उपसमिति गठन गरेको छ । मोबाइल ब्रोडब्यान्ड विस्तारसम्बन्धी उक्त योजनालाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ तथा दूरसञ्चार नियमावली, २०५४ बमोजिम पाँचवटा इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र नवीकरण गर्ने निर्णयसमेत गरेको छ । नवीकरण हुने सेवाप्रदायकमा स्विफ्ट नेटवर्क एण्ड कम्युनिकेसन, ओएसिस ब्रोडब्यान्ड इन्टरनेट, एभरेस्ट लिंक र वेब नेटवर्कलगायत रहेका छन् ।

प्राधिकरणले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रमसमेत स्वीकृत गरेको छ । जसअनुसार प्राधिकरण कोषतर्फ ८१ करोड ३१ लाख ७९ हजार रुपैयाँ र ग्रामीण दूरसञ्चार विकास कोषतर्फ ४ अर्ब ६९ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ । दुवै शीर्षकमा गरी प्राधिकरणको कुल वार्षिक बजेट ५ अर्ब ५० करोड ४१ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

यस्तै, विभिन्न दूरसञ्चार सेवाप्रदायकले पेस गरेका महसुल दरसम्बन्धी प्रस्तावमध्ये १० सेवाप्रदायकको महसुल दर प्राधिकरणले स्वीकृत गरेको छ । स्वीकृत महसुल दर र लागू भएको मिति सार्वजनिक जानकारीका लागि प्रकाशित गर्न सम्बन्धित सेवाप्रदायकलाई निर्देशन दिइएको छ ।

प्राधिकरणले दूरसञ्चार क्षेत्रमा देखिएको करसम्बन्धी समस्याको अध्ययनका लागि समेत उपसमिति गठन गरेको जनाएको छ । विद्यमान अवस्था, कानुनी तथा प्रशासनिक समस्या र प्राधिकरण तथा सरकारले गर्नुपर्ने काम पहिचान गरी सिफारिस गर्न उपसमितिलाई जिम्मेवारी दिइएको छ ।

प्रवक्ता अर्यालले भोटेकोशी बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारीसमेत दिनुभयो।