काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिन आचार्यले नेपाली रुपैयाँको छुट्टै आधिकारिक मुद्रा चिह्न निर्धारण गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै आचार्यले डिजिटल अर्थतन्त्र र वित्तीय प्रविधिको विस्तारसँगै नेपाली रुपैयाँको अन्तर्राष्ट्रिय पहिचानका लागि विशिष्ट मुद्रा चिह्न आवश्यक भइसकेको बताए ।

उनले विश्वका प्रमुख मुद्राहरू डलर, पाउन्ड, युरो, येन तथा छिमेकी मुलुक चीनको युआन र भारतको रुपैयाँका आफ्नै आधिकारिक चिह्न रहेको उल्लेख गर्दै नेपाल भने अझै ‘रु.’ वा ‘NPR’ जस्ता संक्षिप्त रूपमै निर्भर रहेको बताए ।
नेपाली रुपैयाँको मुद्रा चिह्नमा देवनागरी लिपिको मौलिकता र नेपालको राष्ट्रिय पहिचान झल्किनुपर्ने उनको धारणा थियो । यस्तो चिह्नले डिजिटल भुक्तानी, फिनटेक तथा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा नेपाली मुद्राको छुट्टै पहिचान स्थापित गर्न सहयोग पुग्ने उनले बताए ।
आचार्यले खुला प्रतिस्पर्धाबाट उत्कृष्ट डिजाइन छनोट गरी नेपाली रुपैयाँका लागि आधुनिक, मौलिक र राष्ट्रिय पहिचान झल्किने मुद्रा चिह्न निर्माण गर्न नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए।







