काठमाडौँ । गएराति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । उनलाई आफ्नै निवासमा प्रहरी आएर नियन्त्रणमा लिएको समाचार बाहिरिएको छ ।
तर पक्राउ पूर्जी भने कतै छैन, प्रहरीले सार्वजनिक गरेको पनि छैन । मुलुकको प्रधानन्यायाधीश भैसकेको व्यक्तिलाई प्रहरीले यसरी मध्यरातमा, घरमै पुगेर र त्यो पनि विना कुनै प्रक्राउ पूर्जी नियन्त्रणमा लिनुको अर्थ के होला ?
यसरी सुरक्षा नियन्त्रणमा लिन कानुनले दिन्छ कि दिँदैन ? त्यो पनि अहिलेको प्रश्न होइन किनभने अहिलेसम्म प्रहरीले पक्राउ गरिएको पनि भनेको छैन । यदि पक्राउ गरिएकै समाचार सुरक्षा निकायबाट आएपछि यस प्रश्नमा प्रसस्त बहस होला नै ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी नेतृत्वको टोलीले उनलाई महाराजगन्ज स्थित उनको घरबाट सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएको हो । र, नियन्त्रणमा लिनुपर्नाको कारण जबरामाथि ‘आक्रमण हुनसक्ने’ सूचना प्रहरीले पाएको भन्ने छ । त्यसैले नै प्रहरीले कार्यालयमा ल्याएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको भनाई छ ।
प्रहरी स्रोतले उनीबिरुद्ध उजुरी परेको बताए पनि खड्काले पूर्व प्रधानन्यायाधीशविरुद्ध कुनै उजुरी नपरेको दाबी गरेका छन् । खड्काले केही जेनजी युवाहरूबाट उनीमाथि राति नै आक्रमण हुनसक्ने अवस्था देखेपछि सुरक्षाका लागि नियन्त्रणमा लिइएको बताएका छन् ।
उनी २०७५ पुस १८ देखि प्रधानन्यायाधीश भएका थिए । त्यसपछि विसं २०७८ फागुन १ मा संसदमा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । तर, उनीबिरुद्धको महाअभियोग पारित नभए पनि उनी सर्वोच्च अदालतमा भने फर्किएनन् ।
आज बिहानैका खबरहरुमा चोलेन्द्रको पक्राउलाई विभिन्न रुपमा विश्लेषण गरिएको छ । कतिपयले यसलाई उनले राजनीतिक चलखेल गरेको भनेका छन् भने कतिले सर्वोच्च अदालतमा हाल विचाराधीन रहेका केही मुद्दामा उनले चासो राखेर फैसलाका लागि प्रभावित पार्ने काम थालेका बताएका छन् ।
अनि कतिपयले उनीमाथि अनियमिताको उजुरी नै परेको थियो पनि भनेका छन् । तर पनि यी सबै तर्क र बहसका कुनै प्रमाण भने छैनन् । मानिसहरु र मिडियाले आआफ्नै स्रोतलाई उद्धृत गरेर यी सबै समाचार सम्प्रेषण गरेका छन् ।
तर, एउटा प्रश्न भने अझै अनुत्तरित नै छ र त्यो हो उनीमाथिको सुरक्षा थ्रेट के हो ? के कति कारणले उनीमाथि राति नै आक्रमण हुन लागेको थियो ? र, मध्यरातमा कस्तो सुरक्षा थ्रेट थियो र उनलाई राति नै घरबाट उठाएर ल्याउनुपर्यो ?








