काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संवैधानिक निकायका पदाधिकारी तथा न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा उहाँले सम्पत्ति विवरण गोप्य राख्ने व्यवस्थाले सुशासन, पारदर्शिता र जवाफदेहिता कमजोर बनाउने बताउनुभएको हो।

सांसद न्यौपानेले संवैधानिक नियुक्ति पाएका व्यक्ति तथा न्यायाधीशको सम्पत्ति विवरणसमेत सार्वजनिक हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
उहाँले पहुँच भएका व्यक्तिको सम्पत्ति गोप्य राख्ने तर पहुँच नभएका सर्वसाधारणको सम्पत्तिमाथि विभिन्न प्रश्न उठ्ने अवस्थाले भ्रष्टाचार नियन्त्रणमा चुनौती सिर्जना गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, “यो देशमा सम्पत्ति गोप्य रहने अनि हेर्न नपाउने भन्ने व्यवस्थाले सुशासन हुँदैन। संवैधानिक निकायका पदाधिकारीको सम्पत्ति गोप्य रहने, न्यायाधीशको सम्पत्ति गोप्य रहने अर्थात् पहुँचवालाको सम्पत्ति गोप्य रहने अनि पहुँच नहुनेको सम्पत्तिमाथि छानबिन हुने अवस्था अन्त्य गर्नुपर्छ।”
सांसद न्यौपानेले सुशासन, पारदर्शिता, जवाफदेहिता र जिम्मेवारीको विषय सम्पत्तिको पारदर्शितासँग प्रत्यक्ष जोडिएको बताउँदै संवैधानिक पदमा नियुक्त भएका व्यक्ति तथा न्यायाधीशको सम्पत्त सार्वजनिक गर्ने कानुन आवश्यक रहेको बताउनुभयो।







