काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले भोटेकोशी–त्रिशूली करिडोरका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ सहयोग गरेको छ ।
प्याब्सनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम जुटाएको जानकारी दिएको हो ।
प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार गत भदौ ११ गतेदेखि देशभरका सदस्य विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकबाट राहत रकम संकलन अभियान सञ्चालन गरिएको थियो । अभियानबाट संकलित रकममध्ये १२ करोड रुपैयाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ ।
त्यस्तै, ३ करोड ३९ लाख २ हजार ९ सय ७० रुपैयाँ शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । प्याब्सनका सदस्य विद्यालयहरूले थप ३ करोड ५० लाख रुपैयाँ सिधै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छन् ।
बाढी प्रभावित क्षेत्रमा पूर्ण रूपमा क्षति भएका तीन र आंशिक क्षति भएका दुई विद्यालयको पुनःस्थापनाका लागि २ करोड रुपैयाँ छुट्याइएको पनि अध्यक्ष अधिकारीले बताउनुभयो ।
उहाँले बाढीमा परी बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
प्याब्सनले बाढी प्रभावित क्षेत्रमा पठनपाठनबाट वञ्चित बालबालिकाको शिक्षालाई निरन्तरता दिन आवश्यक शैक्षिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । अध्यक्ष अधिकारीले विपद्का बेला शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेर प्याब्सनले सहयोग अभियान सञ्चालन गरेको बताउनुभयो।








