हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो) दुर्घटना हुँदा छ जना घाइते भएका छन्
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर आज बिहान सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो ।
घाइते हुनेमा जिल्ला अदालत पर्साका मुख्य न्यायाधिश दाङको तुलसीपुर उपमहानगरपालिका ९ का ५७ वर्षीय गोकर्ण डाँगी, रजिस्ट्रार बैतडीको दशरचन्द नगरपालिका ७ सुर्काल बस्ने ५१ वर्षका तारादत्त बडु, बडुको श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु, ३१ वर्षकी रिता बडु र गाडी चालक दाङको राप्ती नगरपालिका ८ बस्ने ३२ वर्षका छुनिलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको जनाइएको छ ।
अन्य घाइतेको अवस्था मध्यम रहेको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
गाडीमा दुई जना महिला र चार जना पुरुष गरी छ जना रहेको जनाइएको छ । घाइतेलाई उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ । दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएक छ । रासस











