काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग पछिल्लो सुरक्षा अवस्था र विकसित घटनाक्रमबारे छलफल सुरु गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार सुरु भएको छलफल तराई–मधेश क्षेत्रमा हालै भएका घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा सांसद रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, विक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानीलगायतको सहभागिता रहेको छ।
प्रधानमन्त्री शाहले यसअघि शुक्रबार नै मधेश केन्द्रित राजनीतिक दलका नेताहरूसँग पनि छुट्टै छलफल गर्नुभएको थियो। सरकारले पछिल्ला घटनापछि सामाजिक सद्भाव कायम राख्ने, शान्ति–सुरक्षा सुदृढ बनाउने तथा प्रभावित क्षेत्रको अवस्थाबारे निरन्तर परामर्शलाई तीव्रता दिएको जनाएको छ।











