२ भाद्र २०८३, मंगलवार
,
Latest
कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख अर्याल र बङ्गलादेशी राजदूतबीच शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत  मो. शफिकुर रहमानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताउनुभयो ।

सभामुख अर्यालले बङ्गलादेशका जनताबाट प्राप्त जनादेशका आधारमा गठित सरकारप्रति शुभकामना व्यक्त गर्दै जनताको सेवा तथा देशको प्रगति र समृद्धिका लागि सफल कार्यकालको कामना गर्नुभयो । साथै नेपालमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भई नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै दुवै देशका सरकारबीचको सहकार्य थप सुदृढ भई द्विपक्षीय सम्बन्धका विविध आयामले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा सभामुख अर्यालले बङ्गलादेशले हासिल गरेको आर्थिक तथा भौतिक विकासको प्रशंसा गर्दै नेपालको विकास यात्रामा बङ्गलादेशका असल अभ्यासहरू उपयोगी हुन सक्ने धारणा राख्नुभयो । ‘नेपाल र बङ्गलादेशबीचको सहकार्यले दुवै देशका जनताको सुख, समृद्धि र कल्याणमा महत्वपूर्ण योगदान पुग्नेछ,’ उहाँले भन्नुभयो ।

सभामुख अर्यालले खेलकुद क्षेत्रमा बढ्दो सहकार्यले पनि दुई देशका जनताबीचको सम्बन्धलाई थप नजिक ल्याएको उल्लेख गर्दै फुटबल, क्रिकेट, भलिबललगायत खेलमार्फत युवा पुस्ताबीच मित्रता, सम्पर्क र आपसी समझदारी अभिवृद्धि भएको बताउनुभयो। साथै पर्यटन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरीय सम्पर्कमार्फत आगामी दिनमा सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा व्यक्त गर्नुभयो ।

भेटका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, जलवायु परिवर्तन तथा क्षेत्रीय सहकार्यका विविध विषयमा समेत छलफल भएको थियो । सभामुख अर्यालले विशेषगरी चिकित्सा शिक्षा तथा अन्य प्राविधिक विषयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको योगदानको प्रशंसा गर्नुभयो । जलवायु परिवर्तनका साझा चुनौतीबारे चर्चा गर्दै सभामुख अर्यालले हिमाली क्षेत्रको वातावरणीय जोखिम र समुद्री तटीय क्षेत्रका समस्याहरू दुवै मुलुकका साझा सरोकारका विषय भएको उल्लेख गर्नुभयो ।

उक्त अवसरमा राजदूत रहमानले नेपाल र बङ्गलादेशले जलवायु परिवर्तन, प्राकृतिक विपद्, विकास तथा आर्थिक रूपान्तरणका क्षेत्रमा समान प्रकृतिका चुनौतीहरू सामना गरिरहेको उल्लेख गर्नुभयो । उहाँले यी साझा समस्याहरूको समाधानका लागि दुवै मुलुकबीच सहकार्य, अनुभव आदानप्रदान तथा साझेदारीलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

ऊर्जा, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य तथा जनस्तरीय सम्बन्धका क्षेत्रमा नेपाल र बङ्गलादेशबीच विद्यमान सहकार्यलाई थप विस्तार गर्न बङ्गलादेश सरकार सकारात्मक रहेको समेत राजदूत रहमानले बताउनु भयो । उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोगलाई थप प्रभावकारी बनाउँदै साझा हितका विषयहरूमा मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।