काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा करिब ८९ अर्ब ६० करोड अमेरिकी डलर (झण्डै ६ दशमलव ६ ट्रिलियन रुबल) बराबरका सम्झौताहरू सम्पन्न भएका छन् ।
मञ्चको आयोजक समितिका कार्यकारी सचिवले शनिबार जानकारी दिँदै चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा १ हजार ८४ वटा विभिन्न सम्झौता सम्पन्न भएको बताउनुभएको छ ।
मञ्च बुधबारदेखि शनिबारसम्म आयोजना गरिएको थियो । उहाँका अनुसार यस वर्षको मञ्चमा विश्वका १४२ देशका प्रतिनिधिहरू सहभागी भएका थिए ।
व्यापार, लगानी, ऊर्जा, प्रविधि, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय आर्थिक सहकार्यका विविध विषयमा छलफल हुनुका साथै विभिन्न क्षेत्रसँग सम्बन्धित सम्झौताहरूमा हस्ताक्षर गरिएको थियो ।
रुसको प्रमुख अन्तर्राष्ट्रिय आर्थिक कार्यक्रमका रूपमा परिचित यो मञ्चले विश्वभरका सरकारी प्रतिनिधि, उद्योगी, लगानीकर्ता तथा आर्थिक नीति निर्माताहरूलाई एकै थलोमा ल्याउने गरेको छ ।
आयोजकहरूका अनुसार यस वर्षको सहभागिता र सम्झौताहरूको परिमाणले मञ्चप्रति अन्तर्राष्ट्रिय चासो निरन्तर बढिरहेको सङ्केत गरेको छ ।
विश्व अर्थतन्त्रमा देखिएका चुनौती, क्षेत्रीय सहकार्य, नयाँ लगानी अवसर तथा दीर्घकालीन आर्थिक विकासका रणनीतिबारे समेत मञ्चमा व्यापक छलफल भएको जनाइएको छ ।











