४ भाद्र २०८३, बिहीबार
,
Latest
गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन “नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेशमान सिंह स्मृति किक बक्सिङमा एपीएफ च्याम्पियन, राजेश र रिता उत्कृष्ट खेलाडी



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफ ५ स्वर्णसहित टिम च्याम्पियन बनेको हो । च्याम्पियन एपीएफले १ लाख नगद पुरस्कार पायो । ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मी ३ स्वर्णसाथ दोश्रो भयो । आर्मीले ५० हजार नगद पुरस्कार हात पार्यो । पुरुषमा आर्मीका राजेश चौधरी तथा महिलामा नेपाल प्रहरी क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए ।

दुवैले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरे । राजेशले ६५ केजी तथा रिताले ५५ केजीमा स्वर्ण जितेका थिए । स्वर्णवापत दुवैले छुट्टै जनही ३० हजार नगद पुरस्कार पनि पाए । भाटभटेनीले अनुशासित टिमको उपाधि हात पार्यो भने मार्चपासमा एपीएफ उत्कृष्ट बन्यो । ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको पुरुष ५० केजीमा मेन डोजोका मनोज राना मगर पहिलो भए । फाइनलमा उनले एपीएफका सञ्जय राईलाई पराजित गरे । आर्मीका यामराज थापा मगर र मेन डोजोका भक्तराज जोशी तेश्रो भए । पुरुष ५५ केजीमा एपीएफका रोहित चुनारो पहिलो भए ।

उनले आर्मीका तारा तामाङलाई फाइनलमा हराए । मुवाँथाईका दावा फुन्जो शेर्पा र प्रहरीका राजेन्द्र सिन्जाली मगर तेश्रो भए । पुरुष ६० केजीमा एपीएफका वीरेन्द्र सिंह कोधारीले स्वर्ण जिते । उनले फाइनलमा प्रहरीका मुकेश पण्डितलाई पाखा लगाए । मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तेश्रो बने । पुरुष ६५ केजी फाइनलमा आर्मीका राजेश चौधरीले मुवाँथाईका फुर्देनी शेर्पालाई पन्छ्याउदै शीर्ष स्थान हात पारे । बक्समान्डुका मनीषकुमार भुजेल र प्रहरीका समन धुस्रीले कांस्य जिते । पुरुष ७० केजीमा आर्मीका सनीसिंह सुनवारले बाजी मारे । उनले फाइनलमा भाटभटेनीका सविन दिमहुमलाई निराश पारे ।

सो क्योकुसिनका प्रदीप तामाङ र एपीएफका रुद्र सरुले तेश्रो स्थानमा चित्त बुझाए । पुरुष खुला तौलसमूहमा रेजका कोशिष श्रेष्ठ च्याम्पियन बने । फाइनलमा कोशिषले एपीएफका भुपेन्द्र शाहको चुनौती समाप्त पारे । सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेश्रो भए । महिला ६५ केजीमा एपीएफकी विनिता थापा मगरले फाइनलमा आर्मीकी मन्जु विकलाई पन्छ्याउदै स्वर्ण चुमिन् । एपीएफकी मनीषा राउत र मेन डोजोकी रविना तामाङ तेश्रो स्थानमा रहे । महिला खुला तौलसमूहमा आर्मीकी विन्दु पुन पहिलो भइन् । फाइनलमा विन्दुले एपीएफकी जयन्ती श्रेष्ठलाई पाखा लगाइन् ।

मेन डोजोकी पुनम कर्माचार्य र मुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तेश्रो भए । महिला ६० केजीमा एपीएफकी निशा विक पहिलो भइन् । फाइनलमा निशाले मेन डोजोकी सुस्मिता शाहीलाई पराजित गरिन् । मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेश्रो भए । महिला ५० केजीमा एपीएफकी सन्जु माया थिङले स्वर्ण जितिन् । सन्जुले आईकेकेएफकी करिश्मा कार्कीलाई हराइन् । आर्मीका रुविका खड्का र शान्ति थापा मगरले कांस्य हात पारे । महिला ५५ केजीमा प्रहरीकी रिता ठकुल्लले फाइनलमा एपीएफकी विद्या गुरुङमाथि जित हात पार्दै पहिलो भइन् । आर्मीका अनुपमा नेपाली र रिना धमाल संयुक्त रुपमा तेश्रो भए ।

विजेतालाई पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंह, पूर्व सांसद मदनबहादुर अमात्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जन, आयोजक ललितपुर ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा १ सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ८–८ हजार नगद पुरस्कार प्राप्त गरे ।




भर्खरै