१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२
????????????????????????????????????
अ अ+ अ-

बागलुङ। बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ । जसमध्ये क्षेत्र नं. २ ले पश्चिम बागलुङलाई समेटेको छ।

भौगोलिक विषमता, गरिबी, बेरोजगारी, अशिक्षा जस्ता समस्यासँग जुधिरहेको यस क्षेत्र विकासको पर्खाइमा छ । प्रचुर सम्भावना भएर भौतिक विकासमा पछि परेको यहाँका मतदाता दुरगामी दृष्टिकोणसहित विकासको अगुवाइ गर्ने नेतृत्वको खोजीमा छन् ।

बहुदलपछिका सात वटा आम निर्वाचनमा मत दिएर जिताएका राजनीतिक दल र उम्मेदवारले अपेक्षित रुपमा काम गर्न नसक्दा यस क्षेत्र विकासमा पछाडि परेको जनगुनासो छ । यस क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बागलुङ–घोडाबाँधे सडक मार्ग खुलेको २५ वर्ष बितिसक्दा कोलोपत्र हुन नसक्नु त्यसकै एक दृष्टान्त हो । दुई दशकदेखि चर्चामा रहेको र सरकारले निर्माण घोषणा गरेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाले गति लिन नसकेकामा स्थानीवासी असन्तुष्ट छन् ।

ठूला र रुपान्तरणकारी योजना तत्काल कार्यान्वयनमा आउन नसके पनि जनजीविकासँग सम्बन्धित समस्या छिटो सम्बोधन हुनुपर्ने मतदाताको माग छ । निर्वाचनताका बाँडेका आश्वासन नेताहरुले पूरा गरुन् भन्ने उनीहरु चाहन्छन् । मध्यपहाडी लोकमार्गले यातायात सेवामा केही सहजता ल्याए पनि यस क्षेत्रका ग्रामीण सडक भने अझै नाजुक अवस्थामा छन् । कतिपय वडामा बाह्रैमास यातायात सञ्चालन गर्न नसकिने अवस्था छ । राष्ट्रिय राजमार्गमा जोडिए पनि यस क्षेत्रमा आर्थिक गतिविधि न्यून छ ।

स्वास्थ्य र शिक्षामा पहुँचको दृष्टिले बागलुङ–२ का बासिन्दा पछाडि छन् । भौगोलिक विकटताका कारण ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिकालगायत स्थानीय तहमा स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच छैन । सबै नागरिकलाई आधारभूत शिक्षा र स्वास्थ्य सेवा पु¥याउन राज्यले गरेको प्रयास यस क्षेत्रमा अपर्याप्त देखिन्छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार भौगोलिक विकटता र सचेतनाको कमी आदि स्वास्थ्य क्षेत्रका चुनौती हुन् ।

मातृ तथा नवशिशु स्वास्थ्यका दृष्टिले निसीखोला र ढोरपाटन जिल्लाकै कमजोर छ । ती दुई स्थानीय तहमा घरमै हुने सूत्केरीको दर बढी छ । गत आवको आँकडा अनुसार निसीखोलाका १६ आमाले घरमै सुत्केरी गराएको जनस्वास्थ्य निरीक्षक शर्माले जानकारी दिनुभयो । बालबालिकाको विद्यालय छोड्ने दर पनि यही क्षेत्रमा बढी छ । पढाइ बीचमै छाडेर रोजगारीका लागि भारतलगायत मुलुकमा जान यहाँका युवा विवश छन् । गरिबी र विपन्नता यस क्षेत्रको अर्को समस्या हो । व्यावसायिक कृषि, पशुपालन, पर्यटन, खनिज आदिमा अथाह सम्भावना भएपनि स्थानीयवासीको जीवनयापन गुजारामुखी छ ।

उद्यम र व्यवसाय प्रवर्द्धनका गतिविधि न्यून हुने गरेका छन् । वैदेशिक रोजगारीमा जानेको संख्या अधिक छ । अधिकांश भारत र खाडी मुलुक पुगेका छन् । अन्य विकसित मुलुकमा अध्ययन र रोजगारीका जानेको सङ्ख्या बढ्दो छ । देशकै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष यही क्षेत्रमा पर्ने भए पनि पर्यटनबाट स्थानीयवासीले यथोचित लाभ पाएका छैनन् । पर्यटन पूर्वाधार र प्रचारप्रसारको अभाव छ । ढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने सरकारको योजना सफल हुन सकेको छैन ।

जिल्लाको सबैभन्दा होचो भूभाग बडीगाड गाउँपालिकाको खर्बाङ बजार (छ सय मिटर) देखि सबैभन्दा अग्लो भूभाग ढोरपाटनमा पर्ने फागुने धुरी (चार हजार ६९० मिटर) यही क्षेत्रमा पर्छ । यस क्षेत्र छिमेकी जिल्ला गुल्मी, प्यूठान, रोल्पा, रुकुम पूर्व र म्याग्दीसँग जोडिएको छ । बेंसीका सम्म फाँटदेखि लेकका पाटनसम्म यहाँको भूगोल फैलिएको छ । ढोरपाटन सिकार आरक्ष, घुम्टेको लेक, गलकोट दरबार, पातीहाल्ने, तिलाचन ताल, रिघा ताल, बराह ताल, नौडल्ले पहाड, डुँडेको लेक, निलुवा, सहस्रधारा झरना, टेउवा मूर्तिकला सङ्ग्रहालय, सोलेडाँडालगायत यहाँ मुख्य पर्यटकीय क्षेत्र हुन् ।

जिल्लाको मौलिक पहिचानका रुपमा रहेका बुट्टेनली, नेपाली हाते कागज, राडीपाखी, भाँगो आदि यहीँ पाइन्छन् । कुनै ताका तामाखानी चलाएका छन्त्याल जातिको बसोबास यहाँ छ । तमानखोला गाउँपालिकामा पर्ने लाम्मेलाखानी, गुर्जाखानी, खुङ्खानी, बोङ्खानी, घोसाखानी, घैयाखानीलगायत ‘उपल्लो बाइस खानी’ अन्तर्गत थिए । ती ठाउँमा अहिलेपनि तामाखानीका तोबा (प्वाल), सुरुङ र अवशेष भेटिन्छन् ।

स्थानीयवासीका अनुसार पुस्तौँदेखि चलेका तामाखानी श्री ३ चन्द्र शमशेरको पालामा विसं १९८१ देखि बन्द छन् । तत्कालीन सरकारले कर (भेजा उठाउने) नियम बसालेपछि गाउँलेले तामा निकाल्न छाडेका थिए । छन्त्यालहरुले रैथाने प्रविधिबाट तामा उत्खनन गर्थे । गाउँपालिका अध्यक्ष जोकलाल बुढा तामाखानी रहेको क्षेत्रको पहिचान र सूचीकृत गर्न पहल थालिएको बताउनुहुन्छ । तामाखानीको सम्भाव्यता अध्ययनपछि खोज र उत्खननका लागि पहल अगाडि बढाउने गाउँपालिकाको योजना छ ।

यस क्षेत्रमा बसोबास गर्ने जातजातिका आफ्नै मौलिक संस्कृति र रहनसहन छ । ताराखोलाको सिस्नो खोस्ने पर्वदेखि निसीखोलाको पुतली नाच, गलकोटको सती घाटुदेखि ढोरपाटनको झाँक्री नाचसम्म यहाँका सांस्कृतिक धरोहर हुन् । यस क्षेत्रमा क्षेत्री, ब्राम्हण, जनजाति, दलित आदिको मिश्रित बसाबोस छ । बागलुङ–२ मा गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा समेटिएको छ ।

यस क्षेत्रमा कुल ९६ हजार ३३५ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो । तीमध्ये महिला मतदाता ४८ हजार २०५ र पुरुष मतदाता ४७ हजार १३० छन् । यस क्षेत्रमा ५९ मतदानस्थल र ११५ वटा मतदान केन्द्र छन् । विसं २०४८ को आमनिर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका ओमप्रसाद गौचन विजयी हुनुभएको थियो ।

विसं २०५१ र २०५६ को निर्वाचनमा राष्ट्रिय जनमोर्चाका परी थापा, विसं २०६४ को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका नीरज पुन, विसं २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका ज्ञानकुमारी छन्त्याल विजयी हुनुभएको थियो । विसं २०७४ को निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट देवेन्द्र पौडेल र विसं २०७९ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट पुनः पौडेल नै विजयी हुनुभएको थियो ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेसका टेकराज पौडेल, नेकपा (एमाले) बाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे ‘अनिल’, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही उम्मेदवार रहनुभएको छ ।

जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ती, मङ्गोल नेशनल अर्गनाइजेसनबाट जुनबहादुर थापामगर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, नेशनल रिपब्लिक नेपालबाट नरबहादुर बुुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुवँर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट लोकेन्द्र घिमिरे र श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन चुनावी मैदानमा हुनुहुन्छ । रासस