काठमाडौँ । प्रभु बैंकका सिइओ अशोक शेरचनसहित ३ जना माथिल्लो तहका कर्मचारीलाई अनुसन्धानका लागि भन्दै प्रहरीले पक्राउ गरेको घटना प्रहरी र बैंकभित्रकै इगोका कारण हुन पुगेको रहस्य खुलेको छ ।
नेपालकै ठूला मध्येको यो कमर्सियल बैंकका उच्चपदस्थ अधिकारीहरुलाई यसरी पक्राउ गर्दा यतिबेला नेपालको बैंकिङ क्षेत्र तरंगित त भएकै छ, यसले मुलुकको बैंकिङ क्षेत्रको नियामक निकाय राष्ट्रबैंकमा समेत यसले तरंग उत्पन्न गरिदिएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बाइपास गरेर केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख मनोज केसी अघि बढेपछि उनीहरु दुई जनाबीचको असमझदारी पनि यहाँ देखिन पुगेको छ । यसमा प्रधानमन्त्रीको सचिवालयका एक जिम्मेवार अधिकारीको पनि सन्देहपूर्ण भूमिका देखिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका ती वरिष्ठ अधिकारीले सिआइबी प्रमुख मनोज केसीलाई सहयोग गरेको पाइएको छ । महानिरीक्षकलाई बाइपास गरेर अघि बढेका सिआइबीलाई प्रधानमन्त्री कार्यालयले पनि राष्ट्र बैंकलाई बाइपास गरेर प्रहरीलाई पक्राउ गर्न र थुनामा राख्न दबाब दिएको बुझिएको छ ।
पक्राउ परेका अशोक शेरचन सहितका अधिकारीलाई साधारण तारेखमा रिहा गर्न प्रहरी महानिरीक्षकले भनेको भए पनि मनोज केसीले भने अदालत पेश गरेका छन् । अदालती प्रक्रियामा गएका कारण आफूले केही गर्न नसक्ने अहिले सिआइबी प्रमुख केसीले बताउँछन् ।
उता बैंकमा पनि विभागीय प्रमुखहरुका बीचको आपसी इगोका कारण यो समस्या उत्पन्न भएको बताइएको छ । सो बैंकसँग विभिन्न समयमा मर्जर भएर आएका विभिन्न संस्थाको ऋण अपचलन र त्यसको ढाकछोपका लागि एकले अर्कालाई देखाउने र फसाउने प्रवृत्तिका कारण पनि बैंकमा यसरी सिआइबी पस्नुपरेका यहाँका उच्च अधिकारीहरु बताउँछन् ।
शेरचन पक्राउ परेका समयमा निमित्त सिइओले विगतमा स्वीकृत नभएका ऋण सम्बन्धी फाइलहरु धमाधम स्वीकृत गरेपछि अर्काे सन्त्रास फैलिएको बैंकका एकजना वरिष्ठ अधिकारीले जानकारी दिए ।
उनले भने, सिआइबीको राडारमा रहेका वर्तमान निमित्त सिइओ निरज लम्साल र सञ्चालक अम्बिका शर्माले गरेका निर्णयले फेरि अर्काे दुर्घटना नहोला भन्न सकिँदैन ।
बैंकभित्रका विभिन्न समूहहरुको खिचातानीको मारमा बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्त समेत परेकी छिन् । उनलाई पनि प्रहरीले पक्राउ गर्न खोजेका तर फरार रहेको भनेर समाचार लेखाउने काम पनि बैककै कर्मचारीहरुबाट भएको ती अधिकारी बताउँछन् । उनी पारिवारिक कामले शुक्रबार नै विदा लिएर बसेकोमा अहिले फरार भएको समाचार आइरहेको छ ।
न्युजपोलारसँग सम्पर्कमा आएकी पन्तले आफु पारिवारिक कामले महेन्द्रनगर घरमा आएको जानकारी दिइन् । उनले भनिन्, म शुक्रबार नै विदा लिएर घर आएकी छु । तर आइतबार हेड अफिसमा प्रहरीले सीइओ सहितलाई नियन्त्रणमा लिएको थाहा पाएँ । यस विषयमा मलाई केही पनि थाहा छैन ।
पन्तले आफु आफन्तको विवाह कार्यक्रममा सहभागी हुन महेन्द्रनगर आएकी छु, बिदा सकिनेबित्तिकै कार्यालय हाजिर हुन्छु । म भागेको रे भन्ने हल्लाको समाचार पढ्दा अचम्म लागेको बताइन् ।
साथै उनले आफूलाई पक्राउ गर्ने भन्ने विषयमा केही थाहा नभएको र यतिखेर प्रभु बैंकका बारेमा धमिलो पानीमा माछा मारेर अफवाह फैलाउने काम भएको पनि उनले जानकारी दिइन् ।
पन्त बैंकमा अब्बल काम गर्नेमा पर्ने भएकाले कतिपयले उनको राम्रो काम देख्न नसहेर पनि यो अफवाह फैलाइदिएको हुनसक्ने एक वरिष्ठ कर्मचारीले बताएका छन् । उनले शुक्रबार नै आफूले एक साताका लागि बिदा लिएको आफनो बिभाग मातहतका कर्मचारीलाई जानकारी गराएकी थिइन् ।
उता नेपाल राष्ट्र बैंकमा पनि प्रहरीले मुलुकको बैंकिङ क्षेत्रको नियामक निकायसँग परामर्श नै नगरी पक्राउ गर्ने र छापा मार्ने काम गरेकाले भोलिका दिनमा यो क्षेत्रमा के कस्तो अवस्था आउने हो भनेर चिन्ता व्यक्त गर्ने अधिकारीहरु धेरै छन् ।
एक अधिकारीले भने, हामी नियामक निकायका रुपमा काम गरिरहेकोमा हामीलाई नै थाहा नदिई, कुनै मुद्दा नै सेयर नगरी फौजदारी अभियोगजस्तो गरी यसरी प्रहरीले बैंकमा छापा मार्ने र सिइओ पक्राउ गर्ने काम गर्छ भने हाम्रो अस्तित्व के रह्यो त ?
यस विषयमा नेपाल बैंकर्स संघको मौनता पनि रहस्यको घेरामा छ ।










