१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपामा समाहित हुँदै विवेकशीलकी अध्यक्ष बास्कोटाले भनिन्–‘मलाई केही चाहिन्न, विवेकशील अभियान मर्नुभएन’



अ+ अ-

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समाहित भएको विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफूलाई कुनै पद नचाहिने भन्दै विवेकशील साझा अभियान मर्न नदिने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले व्यक्तिगत स्वार्थको लागि रास्वपामा समाहित नभएको स्पष्ट पार्दै मुलुक र जनताको हितका लागि एकतामा आएको दाबी गर्नुभयो ।

उज्ज्वल थापाले सुरुवात गरेको वैकिल्पक राजनीतिले अनेक ठक्कर खाएको स्मरण गर्दै दलमा आउने जुनसुकै कठिनाई र चुनौतीको सामना गन आफूहरु तयार रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘साथिहरुले तपाई राष्ट्रिय पार्टीमा के बन्दै हुनुहुन्छ भनेर सोध्नुहुन्छ ? मलाई थाहा छैन । तपाई उम्मेदवार हो कि समानुपातिक सुरक्षित गर्नुभयो कि भन्छन् । हाम्रो पुरानो राजनीतिले गरेको त्यही नै हो । पहिले देखिनै आफू सुरक्षित हुने र आफ्नो लागि मात्र गर्ने राजनीति हुँदै आएको छ । हामीले भन्यौं–हामी हुनुपर्यो । विवेकशील साझा आन्दोलन मर्नुभएन । उज्वल थापाले रोपेको बिउ फुल्नुपर्यो, फक्रिनुपर्यो । मलाई केही चाहिदैन । जब उज्वल थापाले रोपेको बीउ संसद भवनमा गर्जिन थाल्छ तब म हरेकमा समीक्षा र उज्वल नै देख्छु । त्यो हो हामीले गरेको राजनीतिक र तपस्या । यसै भनेको होइन वैकल्पिक राजनीति सद्प्रयास हो । रविजीले निर्माण गर्नुभयो यो दल । उहाँ थुनामा हुनुहुन्छ । उहाँले शुरु गर्नुभएको सद्प्रयासमा विवेकशीलले विगत १२ वर्षदेखि गरिराखेको मुल्यमान्यताको र जगको राजनीति ल्याएर जोडेको हो । एकअर्कामा समाहित भएको हो । कतिपयले भन्नुहुन्छ तपाईहरु विलय हुनुभयो । यो विलय होइन प्रलय हो । फागुन २१ मा जुन मतक्रान्ती हुन्छ त्यसको लागि विलय हुन जरुरी छ । विलय भएपछि पो प्रलय हुन्छ । त्यसकारण विलय होइन प्रलय नै हो ।’

उहाँले आफूहरु निःशर्त रास्वपासँग एकीकृत हुन आएको भन्दै निःशर्त नै सबैभन्दा ठूलो शर्त हुने बताउनु भयो । –न्युज एजेन्सी नेपाल