१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनमा छोरा असहाब सहिद भए, बुबाको जागिर गुम्यो

जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनमा छोरा असहाब सहिद भए, बुबाको जागिर गुम्यो
अ अ+ अ-

पर्सा। जेनजी आन्दोलनमा आफ्नो २४ वर्षे छोरा असहाब आलम ठकुराई गुमाएकी आमा नजला खातुन र आफ्नो पति गुमाएकी रोक्सिता खातुनको आँखा अहिले पनि ओभाएका छैनन् ।

काठमाडौँमा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका छोरा र पतिको यादले दुबै जना अहिलेसम्म पनि सम्हालिन सकिरहनुभएको छैन ।

उहाँहरु मात्रै होइन, परिवारका अन्य सदस्यहरुको पनि पीडा कम भएको छैन । आफ्नो घरको सदस्य गुमाउनु पर्दा परिवारमा निराशा र छटपटी भने उस्तै छ । “जेनजी आन्दोलनमा भएको अप्रिय घटनाले मेरो मुटु नै चुँडेर लगेजस्तै भइरहेको छ,” गहँभरि आँशु झार्दै आमा नजला खातुनले भन्नुभयो, “आफ्नो सन्तान गुमाउनु पर्दा म जस्तो आमालाई परेको दुःख अरु कसैलाई नपरोस् ?”

सहिद ठकुराईकी आमा नजलाले आफ्नो साइलो छोरा गुमाएपछि आफ्नो परिवार बिछिप्त अवस्थामा रहेको बताउनुभयो । “घरपरिवारको सहारा रहेको छोरालाई मात्रै गुमाएका छैनौँ । कतारमा सुरक्षा गार्डको रुपमा काम गर्दै आउनुभएका श्रीमानको समेत जागिर गुमेको छ,”, उहाँले भन्नुभयो,“जग्गाको नाममा एउटा घरसहितको नौ धुर जग्गा मात्रै छ । चार छोरा र बुहारीको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ ।”

ठकुराईका बुबा अमरुद्धिन वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत रहनुहुन्थ्यो । जेनजी आन्दोलनमा छोरा बितेसँगै उहाँले जागिर छाडेर छोराको अन्तिम संस्कारको कर्म गर्न भन्दै नेपाल फर्किनुभएका थियो । अहिले बुबा अमरुदिन भने कामविहीन हुनुभएको छ । छोराको मुस्लिम धार्मिक संस्कार अनुसारको कर्म गर्न भन्दै भारतको नयाँदिल्लीमा इस्मालिम जमाती गर्नका लागि जानुभएको छ ।

मुस्लिम समुदायमा आफ्नो परिवारको सदस्यको निधनपछि चार महिने संस्कार हुने बताइन्छ । आमा नजलाले आफ्नो परिवारको खम्बा नै ढलेकाले पनि सरकारले आफ्नो परिवारको एक जना सदस्यलाई स्थायी रोजगारीको व्यवस्था गर्नका लागि जोडदार माग गर्नुभएको छ । “कलकलाउँदो नौजवान छोरा गुमाएका छौँ ।

छोराको मृत्युको पूर्ति त जे दिए पनि हुन सक्दैन तर परिवारका सदस्यको गुजारा चलाउनको लागि पनि सरकारले एक सन्तानलाई स्थायी जागिरको व्यवस्था गरिदिए केही हदसम्म भए पनि मलमपट्टी हुने थियो ।”

जेनजी आन्दोलनमा सहिद भएका ठकुराईकी पत्नी रोक्सिता खातुनको अवस्था पनि नाजुक भएको नजलाले बताउनुभयो । “बिहे गरेको दुई महिना बित्न नपाउँदै छोरा गुमाउनुप¥यो ।

अब बुहारीले कसको मुख हेरेर बाँच्लिन् जस्तै भएको छ । हाम्रो त परिवारमा पीडामाथि पीडा थपिएको छ”, उहाँले भन्नुभयो,“छोरा बितेसँगै बुहारीको मुहार कतिबेला पनि उज्यालो भएको छैन । बुहारी अहिले कोठाभन्दा बाहिर पनि निस्किएकी छैनन् ।” घटना हुनुभन्दा दुई महिना अघि मात्रै २४ वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सितासँग विवाह बैवाहिक जीवनमा बाँधिनुभएको थियो ।

जेनजी आन्दोलनका सहिद भएका ठुकराईका भाइ मुराद आलमले जेनजी आन्दोलन जुन उद्देश्यले गरिएको थियो, त्यसअनुसार परिवर्तन हुनुपर्ने माग गर्नुहुन्छ ।

“मेरा दाइ जस्तै धेरै नेपालीले भ्रष्टाचारको विरुद्धको जेनजी आन्दोलनमा आफ्नो ज्यानको प्राण आहूति दिनुभयो । उहाँको योगदानलाई संस्थागत गर्नका मुलुकमा सुशासन र विधिको शासन हुनुप¥यो नि !”

जेनजी आन्दोलनमा बित्नु भएका ठकुराई वीरगञ्जमा कक्षा १२ उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययन गर्नका लागि काठमाडौंँ जानुभएको थियो । “उहाँ फुर्सदको समयमा केही घण्टा पठाओ बाइक चलाएर खर्च जुटाउने गर्नुहुन्थ्यो” भाइ मुरादले भन्नुभयो ।

असहाब भदौ २४ गतेको जेनजी आन्दोलनमा सक्रिय रुपमा सरिक हुनुभएको थियो । उहाँको फोटो तथा भिडियोले पनि उहाँ आन्दोलनमा सहभागी हुनुभएको पुष्टि गर्दछ ।

कोटेश्वर आसपासको सडकमा प्रहरीको गोली लागेर दाजुको सहादत प्राप्त गरेको मुरादले बताउनुभयो । “दाजुको छातीमा दुई गोली लागेपछि नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गर्न लागिएको रहेछ,” उहाँले भन्नुभयो,“सिभिल अस्पतालमा मृत्यु भएपछि पोष्टमार्टम गर्नका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पु¥याइएको भन्ने सुनियो । हामीले दाजुको शव शिक्षण अस्पतालबाट बुझिलिएका हौँ ।”

मन्त्रिपरिषद्को गत कात्तिक १७ गते बसेको बैठकले भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुसार वीरगञ्जका असहाब पनि सहिदको सूचीमा पर्नुभएको छ ।

परिवारका सदस्य भने सहिदको सूचीमा राखेर मात्रै नपुग्ने बताउनुहुन्छ । मुरादले सरकारले आफ्नो दाजुलाई सहिद घोषणा गरेर मात्रै नपुग्ने बताउनुभयो । “हाम्रो दाइलाई सहिद घोषणा गरेर मात्रै हुँदैन ।

जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीको राज्यले उच्च सम्मान गरी उहाँहरुलाई सधैँ सम्झिने वातावरण बनाउन जरुरत छ,” उहाँले भन्नुभयो, “जेनजी आन्दोलनका उद्देश्य अनुरुप मुलुकमा भ्रष्टाचाररहित सुशासन र समृद्धि आउन जरुरत भएको छ ।”

सहिद असहाब नजला र अमरुदिनको पाँच सन्तानमध्येका तेस्रो छोरा हुनुहुन्छ । असहाब वीरगञ्जको ग्लोबल विजनेस कलेजबाट व्यवस्थापन सङकायमा कक्षा १२ पास गरेर थप अध्ययन र रोजगारीका लागि काठमाडौँ जानु भएको थियो ।

असहाबका जेठा दाजु राजाबाबु र माइला दाजु आरिफ सिलाइकटाईको काम गर्दै आउनुभएको छ । अर्का भाइ मुराद कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ भने कान्छो भाइ मुनाफ कक्षा नौमा अध्ययनरत छन् ।

वीरगञ्ज महानगरपालिका–१२ का पूर्व वडाध्यक्ष तुफान अन्सारीले वीरगञ्जले एक असल युवा गुमाउनु पर्दा मर्माहत भएको बताउनुभयो । “असहाब भाइ निकै असल व्यक्ति हुनुहुन्थ्यो । उहाँको निधनले अपूरणीय क्षति भएको छ”, उहाँले भन्नुभयोे, “जेनजी आन्दालनको उद्देश्यले सार्थकता पाएको खण्डमा ठकुराई जस्ता युवाको उच्च सम्मान हुनेछ ।”

मुराद आफ्नो जेनजी आन्दोलनमा सरिक भएका युवा विद्यार्थीमा दमन गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुहुन्छ । “जेनजी आन्दोलनमा अत्याचार गर्नेलाई तत्कालै कानूनी दायरामा ल्याउन जरुरी छ,” उहाँले भन्नुभयो,“दोषीलाई कडाभन्दा कडा कारवाही भएको खण्डमा मात्रै सहिदप्रति सच्चा सम्मान हुनेछ ।” जेनजी आन्दोलनमा सहिद भएका प्रत्येक परिवारका सदस्यलाई सरकारी जागिरको सुनिश्चित गर्नुपर्ने मुरादको माग छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी समुनकुमार कार्कीले जेनजी आन्दोलनको क्रममा मृत्यु भएका असहाबका परिवारलाई सङ्घीय सरकारले घोषणा गरे बमोजिमको क्षतिपूर्ति उपलब्ध गराइसकेको बताउनुभयो ।

“सङ्घीय सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई घोषणा गरेको क्षतिपूर्ति उपलब्ध गराइसकेका छौँ,” उहाँले भन्नुभयो । गत भदौ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई रु १५ लाख क्षतिपूर्ति दिने र मृतकलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । रासस