२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: बाहिरिए टोट्टनहाम र भ्यालेन्सिया



अ+ अ-

इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाम र स्पेनिस क्लब भ्यालेन्सिया च्याम्पियन्स लिगको उपाधि होडबाट बाहिरिएका छन्। युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको मंगलबार राति खेलिएको प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेलमा नमिठो हार भोगेपछि टोट्टनहाम र भ्यालेन्सिया उपाधि होडबाट बाहिरिएका हुन्। दोस्रो लेग खेलमा जर्मन क्लब रसेनबलस्पोर्ट लिपजिगले बलियो टोट्टनहामलाई ३-० गोलले हरायो। जितसँगै रसेनबलस्पोर्ट लिपजिग ४-० कुल गोल भिन्नताका आधारमा क्वार्टरफाइनलमा पुग्न सफल भयो। यसअघि टोट्टनहामको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा पनि रसेनबलस्पोर्ट लिपजिग १-० गोलले विजयी भएको थियो। रसेनबलस्पोर्ट लिपजिग केवल १० वर्षअघि स्थापना भएको क्लब हो।


गोल गरेपछि खुसी मनाउँदै रसेनबलस्पोर्ट लिपजिगका मार्सल सबिट्जर । तस्बिर : एपी/रासस

घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा रेसनबलस्पोर्ट लिपजिगका मार्सल सबिट्जर नायक बने। उनले टोलीका लागि दुई गोलको योगदान गरे। खेल सुरु भएको १०औं मिनेटमै उनले पहिलो गोल गरेका थिए। २१औं मिनेटमा उनले नै टोलीको अग्रता दोब्बर बनाए। निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि एमिल फोर्सबर्गले टोलीका लागि तेस्रो गोल थपेका थिए। टोट्टनहाम युरोपियन फुटबल प्रतियोगितामा ४-० वा सोभन्दा बढी कुल गोल भिन्नताका आधारमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको यो तेस्रो पटक हो। टोट्टनहाम यसअघि च्याम्पियन्स लिगको सन् २०१०/११ सिजनमा स्पेनिस क्लब रियल म्याड्रिडसँग ५-० कुल गोल भिन्नताका आधारमा पराजित भएको थियो।

सन् २०१५/१६ सिजनको युरोपा लिगमा भने जर्मन क्लब बोरुसिया डर्टमन्डसँग ५-१ कुल गोल भिन्नताका आधारमा पराजित भएको थियो। यसैगरी इटालियन क्लब एटलान्टाले भ्यालेन्सियालाई उसैको मैदानमा ४-३ गोलले हरायो। जितसँगै एटलान्टा ८-४ कुल गोल भिन्नताका आधारमा प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भयो। यसअघि घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा पनि इटालियन क्लबले ४-१ गोलको जित हासिल गरेको थियो।

दोस्रो लेग खेलमा एटलान्टाका लागि चारवटै गोल जोसिप लिसिसले गरे। खेल सुरु भएको तेस्रो मिनेटमै पेनाल्टीमार्फत पहिलो गोल गरेका जोसिप लिसिसले ४३औं मिनेटमा पेनाल्टीमार्फत नै अर्को गोल थपेका थिए। ७१औं मिनेटमा तेस्रो गोल गरेका उनले ८२औं मिनेटमा टोलीका लागि चौथो गोल थपेका थिए। भ्यालेन्सियाका लागि भने केभिन गामिरोले २१औं र ५१औं मिनेटमा गोल गरे। अर्को एक गोल ६७औं मिनेटमा फेरान टोरेसले गरेका थिए।