१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल

एकै सातामा संक्रमित दोब्बर, संक्रमण अझै तीव्र गतिमा बढ्न सक्ने

एकै सातामा संक्रमित दोब्बर, संक्रमण अझै तीव्र गतिमा बढ्न सक्ने
अ अ+ अ-

काठमाडौँ । मुलुकमा कोरोना भाइरस रोगका संक्रमितको संख्या एक सातामा दोब्बर भएको छ । गत माघ ९ मा पहिलो कोरोना संक्रमित पहिचान भएको थियो । त्यसयता शुक्रबार संक्रमण ४० जिल्लामा विस्तार भएको खुलेको छ । मृत्यु भएका तीन जनासहित मुलुकमा संक्रमितको संख्या ५ सय १६ पुगेको छ । एक साताअघि अघिल्लो शुक्रबार २ सय ५८ संक्रमित पुष्टि भएका थिए ।

‘अहिले देशमा संक्रमण दोब्बर हुने समय सात दिन देखिएको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले भने, ‘संक्रमण दोब्बर हुने समय जति कम हुन्छ, रोग त्यति धेरै तीव्र गतिले फैलिरहेको बुझिन्छ ।’

हाल विश्वमा नेपालको हाराहारी मंगोलिया र हैटीमा ६ दिन संक्रमण दोब्बर भएको देखिएका छन् । विश्वमै सबैभन्दा छोटो समयमा संक्रमण दोब्बर भएको कोमोरसमा हो । त्यहाँ दुई दिनमै संक्रमितको संख्या दोब्बर भएको थियो ।

संक्रमण कम फैलिनु मुख्य रूपमा दुईवटा कारण रहेको महतो औंल्याउँछन् । ‘केस रिपोर्टिङ (संक्रमणको पहिचान) प्रारम्भिक अवस्थामा रहे थोरै तथ्यांक भएकाले संक्रमण दोब्बर हुने समय कम देखिन सक्छ,’ उनी भन्छन्, ‘अर्को कुरा यदि साँच्चै संक्रमणको फैलावट छिटो भइरहेको छ भने पनि दोब्बर हुने समय कम देखाउँछ ।’

छिमेकी मुलुकहरूमा संक्रमण दोब्बर हुने समयले नेपालभन्दा ढिला देखिएका छन् । हाल पाकिस्तानमा १५ दिन, भारतमा १४ दिन, बंगलादेशमा १२ दिन र भुटानमा १० दिनमा संक्रमितको संख्या दोब्बर भएको छ । संक्रमण दोब्बर हुने समय बढी रहेका मुलुकमा संक्रमणको दर कम भइरहेको बुझिने महतो बताउँछन् । चीनमा निकै ढिला संक्रमण दोब्बर भएको थियो । त्यहाँ १ सय १ दिनमा कोरोनाको संक्रमण दोब्बर भएको थियो । यस्तै बेलायतमा ३१ दिन, फ्रान्समा ४५ दिन, जर्मनीमा ४७ दिन, इटली र स्पेनमा ४९ दिन संक्रमण दोब्बर भएको थियो ।

कोरोना संक्रमणका शंकास्पद व्यक्ति धेरै भए पनि तीव्र गतिले यो फैलिन्छ । ‘शंकास्पद जनसंख्या बढी भयो भने संक्रमण दोब्बर हुने समय कम हुन्छ । शंकास्पद जनसंख्या बढी भयो भने संक्रमण दोब्बर हुने समय बढी हुन्छ,’ महतोको भनाइ छ । संक्रमण कति छिटो फैलिने भन्ने कुरा रोकथाम नियन्त्रण कसरी भइरहेको कामले निर्धारण गर्छ ।

दुई महिना लकडाउन भए पनि मानिसहरूको सक्रियता, ओहोरदोहोर उल्लेख्य रूपमा नियन्त्रित नहुनु, गुणस्तरीय क्वारेन्टाइनको समुचित उपयोगसमेत नभएकाले संक्रमणको भित्रभित्रै विस्तार भइरहेको स्वास्थ्य मन्त्रालयका एक पदाधिकारी बताउँछन् । उनका अनुसार परीक्षणको दर बढ्दा संक्रमितहरू देखिन थालेपछि संक्रमण कुन हदसम्म फैलिन्छ भन्ने अनुमान गर्न गाह्रो छ ।

एक सातायता मुलुकमा पहिलेको दाँजोमा पीसीआर परीक्षणको दायरामा वृद्घि भएको छ । तीन दिनयता मुलुकमा १० हजार १ सय २० नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

‘जति मात्रामा जसरी पीसीआरलगायत परीक्षण हुनुपर्ने हो, त्यो अझै भएकै छैन,’ नारायणी अस्पतालका डा। निरज सिंह भन्छन्, ‘परीक्षणमा मुलुक सुहाउँदो विस्तार भए संक्रमितको संख्या झन् बढी हुन्छ । यसपछि वास्तविक संक्रमितको तथ्यांक अनुमान गर्न सकिन्छ । महामारीसम्बन्धी आकलन सही रूपमा गर्न सकिन्छ ।’

स्वास्थ्य मन्त्रालयका पदाधिकारी पीसीआर विधिबाट परीक्षणको दर अपेक्षित रूपमा बढ्न नसकेको स्वीकार गर्छन् । ‘तर दिनमा करिब ३ हजार पीसीआर परीक्षण हुनु राम्रो भए पनि हालको अवस्थामा दिनहुँ दर झन् बढी गर्नैपर्छ,’ उनले भने ।

अझै पनि संक्रमितहरूको पर्याप्त कन्ट्याक्ट ट्रेसिङ नभएको चिकित्सकहरूको भनाइ छ । डा. सिंह मुलुकको आवश्यकताअनुसार दिनहुँ उल्लेख्य संख्यामा परीक्षण हुनुपर्ने बताउँछन् ।

संक्रमित ५०० नाघे, ७० निको भए

मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ५ सय १६ पुगेको छ । शुक्रबार ४० जिल्ला गरी थप ५९ जना नयाँ संक्रमित देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म संक्रमण पुष्टि भएकाहरूमा ४ सय ४० जना पुरुष र ७६ जना महिला छन् ।

शुक्रबार २१ जना डिस्चार्ज भएपछि हालसम्म अस्पतालबाट स्वस्थ भएर घर फर्किनेको संख्या ७० पुगेको छ । उनीहरू १७ देखि २० दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

हालसम्म प्रदेश १ बाट २६, प्रदेश २ बाट ६, वाग्मतीबाट ९, गण्डकीबाट २, प्रदेश ५ बाट २२ र सुदूरपश्चिम प्रदेशबाट ५ जना डिस्चार्ज भएर घर फर्केका हुन् ।

मुलुकमा शुक्रबार पीसीआर विधिबाट ३ हजार ८ सय १९ शंकास्पद नमुनाको कोरोना परीक्षण गरिएको छ । हालसम्म ४२ हजार ४ सय ८८ नमुनाको पीसीआरबाट परीक्षण गरिएको हो । यस्तै द्रुत परीक्षण किट (आरडीटी) बाट शुक्रबार ३ हजार ४ सय २१ नमुनाको परीक्षण गरिएको छ । हालसम्म आरडीटीबाट मुलुकमा गरिएको नमुना परीक्षणको संख्या ८२ हजार १ सय १६ पुगेको छ ।

हाल मुलुकका विभिन्न क्वारेन्टाइनमा २७ हजार ८ सय २९ जना छन् । प्रदेश १ मा १ हजार ४ सय १४, प्रदेश २ मा ५ हजार ९ सय ६, वाग्मतीमा ४ सय ७८, गण्डकीमा ६ सय ७८, प्रदेश ५ मा १५ हजार ९ सय ९९, कर्णालीमा ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ६ सय २९ जना क्वारेन्टाइनमा छन् ।

यस्तै मुलुकका विभिन्न स्थानका उपचार केन्द्रको आइसोलेसनमा ४ सय ३३ जना छन् । प्रदेश १ मा ५८, प्रदेश २ मा १ सय ४५, वाग्मतीमा १८, गण्डकीमा ३, प्रदेश ५ मा २ सय ३, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना आइसोलेसनमा रहेका हुन् । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।