काठमाडौं । सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ ।
आन्तरिक राजस्व विभागले शुक्रबार एक कार्यक्रम आयोजना गरी पहिलो पाक्षिक पुरस्कारअन्तर्गत १५ जना र बम्पर उपहारतर्फ एक जनासहित १६ जना विजेता घोषणा गरेको हो ।

विभागका अनुसार पाक्षिक पुरस्कारतर्फ १५ जना विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गरेका छन् भने बम्पर उपहार विजेताले १० लाख रुपैयाँ पाएका छन् ।
नेपाल पेट्रो ल्युब प्राइभेट लिमिटेडबाट २१ हजार रुपैयाँको सामान खरिद गर्ने क्रममा जारी भएको कुपन नम्बर ०७३११०२०२५०१ का ग्राहकले बम्पर उपहार जितेका विभागले जनाएको छ ।
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षदेखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ कार्यान्वयनमा ल्याएको हो । उक्त कार्यक्रममार्फत कर तिर्ने तथा करसम्बन्धी प्रक्रियामा सहभागी हुने करदातालाई प्रोत्साहित गर्ने उद्देश्य राखिएको विभागले जनाएको छ ।







