काठमाडौं । राष्ट्रिय सभामा प्रस्तुत ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ मा सांसदहरूले दिएका सुझाव समेट्दै सरकारले १३ बुँदामा संशोधन गरेको छ ।
शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक तथा दफावार छलफल सम्पन्न भएको हो । छलफलका क्रममा उठेका विषयबारे जवाफ दिँदै पर्यटनमन्त्री खड्गराज पौडेलले विधेयकलाई थप व्यावहारिक, स्पष्ट र सर्वसाधारणले सहजै बुझ्न सक्ने बनाउन संशोधन गरिएको जानकारी दिनुभयो ।
मन्त्री पौडेलका अनुसार विधेयकमाथि १५ वटा संशोधन प्रस्ताव परेका थिए । तीमध्ये १३ वटा प्रस्तावलाई विधेयकमा समेटिएको उहाँले बताउनुभयो । कानुनका प्रावधानमा दोहोरो अर्थ नलागोस् भन्ने उद्देश्यले भाषिक सरलीकरणमा समेत विशेष ध्यान दिइएको उहाँको भनाइ थियो ।
मन्त्री पौडेलले विधेयकले हवाई भाडा वृद्धि गर्ने नभई यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभयो । उहाँले सुरक्षित र भरपर्दो हवाई सेवा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै विधेयक कार्यान्वयनका लागि तत्कालै आवश्यक तयारी थालिने जानकारी दिनुभयो ।
छलफलका क्रममा सांसदहरूले यात्रुका अधिकार र वायुसेवा प्रदायकको दायित्वबारे पर्याप्त प्रचारप्रसार गर्नुपर्ने विषय उठाएका थिए । त्यसलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकारले तत्काल राष्ट्रव्यापी सचेतना अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्रालयले यात्रुहरूलाई आफ्ना अधिकार, वायुसेवा प्रदायकका दायित्व तथा विधेयकका प्रमुख व्यवस्थाबारे विभिन्न माध्यमबाट जानकारी गराउने तयारी गरेको जनाएको छ।








