काठमाडौं । राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ ।
हवाई सेवालाई सुरक्षित, भरपर्दो र जिम्मेवार बनाउने उद्देश्यले ल्याइएको विधेयकले हवाई यात्रुको अधिकार संरक्षणसँगै दुर्घटना तथा अन्य प्राविधिक समस्याबाट हुने क्षतिका लागि क्षतिपूर्तिको कानुनी आधार स्पष्ट गरेको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथि भएको छलफलपछि सदनमा उपस्थित सदस्यहरूले सर्वसम्मत रूपमा समर्थन जनाएसँगै विधेयक पारित भएको हो ।
विधेयकमा हवाई दुर्घटनाका कारण हुने मृत्यु, अङ्गभङ्ग तथा चोटपटक, उडानमा हुने ढिलाइ वा यात्रा स्थगनजस्ता अवस्थामा यात्रु तथा तेस्रो पक्षले प्राप्त गर्ने क्षतिपूर्तिको व्यवस्था स्पष्ट र व्यवस्थित गर्ने प्रावधान समेटिएको छ ।
यसअघि विभिन्न कानुनी प्रावधानमा छरिएर रहेका तथा स्पष्ट नभएका व्यवस्थालाई एकीकृत गर्दै विधेयकले वायुसेवा कम्पनीलाई यात्रुप्रति थप उत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।








