२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली नाेट सफा राख्न राष्ट्र बैंककाे निर्देशन



अ+ अ-

काठमाडौंः नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेकाे परिपत्रमा झुत्रिएको, मक्किएको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर र चित्र नबुझिने, रंग लागेको, पूर्व राजाको तस्वीर भएका नाेट चलनचल्तीमा नलैजान भनेकाे छ । 

बैंककाे सफा नोट नीति बमाेजिम बैंक तथा वित्तीय संस्थालाई सफा नोटहरु मात्रै बजारमा पठाउन पाउने गरी नयाँ व्यवस्था गरेको हाे ।

बैंकहरुले आफूसँग प्राप्त हुन आएको रकमलाई मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टर भुक्तानीबाट चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउनुपर्ने र तीन प्रकारको नोटलाई क्रमशः हरियो, सेतो र रातो रंगको क्लिप प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तो क्लिप गर्ने बैंकका कर्मचारीको नाम, परिचयपत्र नम्बर, हस्ताक्षर र मितिसहितको विवरण राख्नुपर्ने व्यवस्था गरिएको छ ।

रातो क्लिप भएका नोटलाई बजारमा पठाउन पाइने छैन । यस्तो नोटलाई राष्ट्र बैंकमा खाता भएकाले राष्ट्र बैंकमा र राष्ट्र बैंकमा खाता नभएका वित्तीय संस्थाले आफ्नो खाता भएको बैंकमा त्यस्तो नोट बुझाउनुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार अब नोटमा बैंकहरुले स्टिच गर्न पाउने छैनन् । रबर, प्लाष्टिक रबर र पेपर बैण्डको प्रयोग गर्न भने पाइने व्यवस्था गरेको छ ।

बजारमा पठाउन योग्य नोटलाई अनिवार्य रुपमा संक्रमण हित बनाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै नोट राख्ने दराज, भल्ट, फर्निचर वा नोट ओसारपसार गर्ने सामाग्री पनि सफा हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।