१ पुष २०८२, मंगलवार
,
Latest
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी रुखबाट लडेर युवकको मृत्यु प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छः प्रदीप पौडेल एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले जे भैरहेको छ त्यसबाट जनता सन्तुष्ट छैनन् स्थिति गम्भीर छ:पुष्पकमल दाहाल



अ+ अ-

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र शान्ति प्रक्रियाप्रति यो परिवर्तनमा स्व. गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उहाँको सपना पूरा गर्ने तर्फ अहिलेको नेतृत्वले ध्यान दिन आवश्यक रहेको औल्याउनुभएको छ ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको सरकारले गरेका गतिविधि, संसदीय अभ्यास र न्यायलयका गतिविधि जनतासँग गरेको कबुल विपरित भैरहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौताको भावना अनुरूप देश अघि नबढेकोमा गम्भीर प्रश्न उठाउनुभयो । उहाँले प्रश्न गर्नुभयो, “हामीले विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौं, के त्यतैतिर अगाडि बढेका छौं त?”

उहाँले गिरिजाप्रसाद कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता नदेखिएको उल्लेख गर्दै अहिले नेतृत्वमा रहेकाहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो । “अहिले चलिरहेको संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही, सरकारले गरेका गतिविधि — के हामी लोकतन्त्र र परिवर्तनको जनताको अभ्यासतर्फ अग्रसर छौं?” अध्यक्ष प्रचण्डको प्रश्न थियो ।

गिरिजाबाबुको योगदानको सम्मान गर्दै अध्यक्ष प्रचण्डले वर्तमान नेतृत्वले गणतन्त्रमा जनताले देखेका सपना साकार पार्नेतर्फ ठोस कदम चाल्न नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “गिरिजाबाबुले जनताको पक्षमा गरेका कामको स्मरण गर्दै गर्दा आजका नेताहरूले गम्भीर समीक्षा गर्न जरुरी छ,” उहाँले भन्नुभयो ।

उहाँले आफू जनताको भावना र समस्या बुझ्न हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँगको अभियानमा निस्किएको उल्लेख गर्दै भन्नुभयो, “म अहिले जनताको भावना र पिरमर्का बुझ्न अभियानमा निस्केको हुँ । अहिले जे भैरहेको छ, त्यसबाट जनता सन्तुष्ट छैनन् । निष्ठापूर्वक जनताको हितको पक्षलाई प्राथमिकता दिएनौं भने स्थिति गम्भीर छ ।”

कार्यक्रममा उहाँले वर्तमान सरकार, संसद र न्यायालयको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्ता पक्षले सोचे जस्तै अवस्था सहज नरहेको बताउनुभएको हो । “सरकार कसरी चलेको छ, संसद र न्यायालयको अवस्था के छ — यो सबै गम्भीर समीक्षा आवश्यक छ,” अध्यक्ष प्रचण्डले भन्नुभयो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डसहित राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका नेता, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले कोइरालाको योगदानको स्मरण गर्दै लोकतन्त्र, मानव अधिकार र शान्ति स्थापनामा उहाँको अग्रणी भूमिकाको चर्चा गर्नुभएको थियो ।