२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसहित १२६ देशका नागरिकलाई पाकिस्तानले नि:शुल्क भिसा दिने



अ+ अ-

काठमाडौं । पाकिस्तानले नेपालसहित १२६ देशका नागरिकलाई आफ्नो देश भ्रमणका लागि नि:शुल्क भिसा दिने घोषणा गरेको छ ।

पाकिस्तान सरकारले गत अगष्ट १४ देखि लागू गरेको नयाँ भिसा नीतिमा नेपालसहित १२६ देशका पर्यटक तथा व्यवसायीलाई नि:शुल्क भिसाको व्यवस्था गरेको हो ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले अनलाइन भिसा पोर्टलमार्फत पाकिस्तानको संशोधित र उदार भिसा नीति नेपालसहित १२६ देशका नागरिकका लागि पूर्णरूपमा सञ्चालनमा रहेको बताएका छन् । उनले यी देशका पर्यटक र व्यवसायीले बिना शुल्क २४ घण्टाभित्रै भिसा प्राप्त गर्न सक्ने बताएका छन् ।

पाकिस्तान सरकारले गत जुलाईदेखि आफ्नो भिसा नीति परिवर्तन गरेको हो । प्रधानमन्त्री शहबाज शरीफले भिसा व्यवस्थामा सहजताले पाकिस्तानलाई लगानी र पर्यटनको लागि आकर्षक गन्तव्य बनाउन मद्दत गर्ने अपेक्षा गरिएको बताएका थिए ।

नयाँ व्यवस्थाअनुसार पर्यटक तथा व्यापारिक यात्रुलाई २४ घण्टाभित्र ९० दिनको भिसा उपलब्ध गराइनेछ । यसबाहेक, नयाँ अनलाइन भिसा आवेदन फारममा पहिले झन्डै सयको तुलनामा ३० वटामात्रै प्रश्न समावेश गरिएको छ ।