७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

विपन्नलाई गाँस र कपासको व्यवस्थामा जुटेका विराटनगरका उदाहरणीय युवा

विपन्नलाई गाँस र कपासको व्यवस्थामा जुटेका विराटनगरका उदाहरणीय युवा
अ+ अ-

विराटनगर । कोरोनाको महामारी फैलिन नदिन सरकारले लागू गरेको बन्दाबन्दीमा समस्यामा परेका गरीब, विपन्न तथा असहायलाई खाना खुवाएर स्याबासी पाएको यहाँको एक युवा समूहले अहिले यस्तै गरीब नागरिकलाई जाडोबाट बचाउन न्यानो लुगा वितरणको काम पनि थालेको छ ।
     
बन्दाबन्दीको समयमा रोजगार गुमाएका परिवारलाई गाँसको व्यवस्थामा जुटेका युवा अहिले चिसोका कारण ज्यान गुमाउनु नपरोस् भनेर कपासको व्यवस्थामा पनि लागेका र  आवश्यक सामग्रीको जोहोमा जुटेका बताइएको छ ।
    
बन्दाबन्दीका समयमा उनीहरुले निम्न आय भएका तथा महामारीका कारण रोजगारी गुमाउँदा बिहान बेलुका हातमुख जोड्नै समस्यामा परेका नागरिकलाई खाद्यान्न तथा राहत उपलब्ध गराएका थिए । उनीहरुको यो कार्यको सर्वत्र प्रशंसा र चर्चा भइरहेको छ । 
    
कोरोना भाइरसबाट बच्न र बचाउन तथा आम नागरिकमा चेतना फैलाउन शुरुको अभियानबाट मास्क, सेनिटाइजर र पञ्जा वितरण गरिएको थियो । सरकारले घोषणा गरेको बन्दाबन्दीबाट पेट पाल्न गाह्रो परेका गरीब, विपन्न, असहाय मानिसलाई निकै समस्या भएको थियो । सरकारले गएको चैतमा बन्दाबन्दी घोषणा गरेपछि त्यसको चार दिनपछि मास्क, पञ्जा र सेनिटाइजर वितरण गर्न जाँदा केही गरीब, असहाय, विपन्न परिवारका सदस्य सडक पेटीमा भोकै बसेको जनाएका थिए । उनीहरु खानाको प्रतीक्षा गरिरहेका थिए । यो अवस्था देखेपछि सहन नसकेर विराटनगरका युवा वसिम आलमले उनीहरुलाई खाना खुवाउने सङ्कल्प गर्नुभयो । आफ्नो नेतृत्वमा एक समूह बनाई सडक पेटीमा बस्ने मानिसलाई खाना खुवाउने सङ्कल्प लिनुभयो र यो अभियान लगातार विराटनगर क्षेत्रमा १२० दिनसम्म सञ्चालन गर्नुभएको थियो ।  
    
उहाँको योजनाअनुसार पहिल्यै दिन विपन्न परिवारका ९६ जनालाई खाना वितरण गरिएको थियो । त्यो सङ्ख्या बढेर अहिले दिनमा ४०० जना पुगेको छ । बिहान बेलुका खाना खुवाउने कार्यमा दुई वटा समूह बनाएर अभियानलाई निरन्तरता दिएका युवा वसिमको समूहमा अहिले २० जना युवा छन् भने पप्पु अन्सारीले विराटनगर महानगरपालिकाको ट्राफिक चोकमा सञ्चालन गर्नुभएको रोयल विरयानी हाउसमा खाना तयार गर्न आफ्ना कुकसहित विरियानी हाउस नै वसिम आलमलाई जिम्मा दिनुभएको थियो । यो हाउसमा बिहान बेलुकै ताजा खाना पकाउने र दैनिक नयाँ परिकार बनाएर खुवाउने गरिएको थियो ।
    
उहाँको कार्यलाई मोरङका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारी, तत्कालीन वडा प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक प्रमुख बेदप्रसाद गौतम प्रहरी अधिकृत विकास राईसहित केही सरकारी कर्मचारीले पनि सराहना गर्दै काममा सहयोग गर्दै आउनुभएको थियो ।
    
युवा वसिमको कार्यबाट खुशी भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं १ का नेता  जीवन आचार्य, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपाका तत्कालीन अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि युवा वसिमलाई धन्यावाद दिनुभएको थियो । उहाँहरुले यो कार्य निकै सराहनीय भएकाले यसलाई निरन्तरता दिन आग्रह पनि गर्नुभएको थियो ।
    
युवा वसिमको यस अभियानमा सक्रिय सहयोग गरिरहनुभएका विराटनगर निवासी पप्पु अन्सारीले इस्लाम धर्मावम्बीको महान चाड रमजान महीनामा ब्रत बसेका १८० परिवारमा रोजा ब्रत खोल्न इफतारको बन्दोबस्त गर्नुभएको थियो । उहाँले इफतारमा विभिन्न परिकारको व्यवस्था गर्नुभएको थियो भने कटहरी गाउँपालिका निवासी कृषक कोपेन्द्र सिंहले गोलभेँडा र बन्दाकोपी निःशुल्क उपलब्ध गराई उदाहरणीय काम गर्नुभएको थियो । कुनै सङ्घसंस्थाको सहयोग नलिएरै जारी राखिएको यो कार्यमा व्यक्तिगतरुपमै केही साथी एवं समाजसेवीले सहयोग गरिरहेको र उहाँहरुको सहयोगको सम्मान गर्दै भिडियोमार्फत सहयोगको सो कार्यको जानकारी पनि दिइरहेको युवा वसिमले जानकारी दिनुभयो । 
    
यस कार्यमा सहभागी युवाले कोरोना भाइरसबाट बच्न निकै सावधानी अपनाउनुका साथै स्वास्थ्य विज्ञले दिएको सुझावलाई अङ्गीकार गरिहनुभएको छ । उता प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको सहयोगमा सडक पेटीमा खाना खाने समूहलाई स्वास्थ्य परीक्षण पनि गराइएको थियो ।
    
बन्दाबन्दीले गरीब, असहाय र विपन्न एवं रोजगार गुमाएका मानिसबीच मात्र नभएर यो समूहले विराटनगरमा डेरा लिएर बसेका विद्यार्थीको घरमा दाल, चामल र राजमासहितको प्याकेज पनि सहयोग गरेको थियो । यस कार्यका लागि युवा निर्मला भण्डारीको नेतृत्वमा विद्यार्थीको घरमा, वृद्धाश्रम र अनाथ आश्रममा मनिष पौडेलको नेतृत्वमा र पेरिस सुवेदीको नेतृत्वमा अपाङ्गता भएका र तेस्रो लिङ्गीलाई खाद्यान्न पु¥याउने व्यवस्था पनि गरिएको थियो ।
    
मोरङका परिचित एवं समाजसेवाका क्षेत्रमा पहिचान बनाएका युवा वसिम आलमको साविकको घर रङ्गेली नगरपालिका हो । उहाँ २०५६ सालबाट विद्यार्थी राजनीतिक शुरु गरेर रङ्गेली पब्लिक माध्यमिक विद्यालयको अनेरास्ववियुको उपाध्यक्ष हुनुभयो । उहाँ अहिले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मोरङका सचिवालय सदस्य हुनुहुन्छ भने पार्टीमा मोरङको विद्यार्थी फाँटको इञ्चार्जसमेत रहनुभएको छ ।
    
सडक पेटीमा खानाको प्रतीक्षा गरिरहनुभएका सुनिल मण्डलले भन्नुभयो, “उहाँका कारणले मलाई भोको बस्नुपरेको छैन, उहाँलाई जति नै धन्यवाद दिए पनि कमै हुन्छ ।” विराटनगर सरौचिया निवासी मण्डल मजदूरका काम गर्नुहुन्थ्यो । सरकारले बन्दाबन्दीको घोषणा गरेपछि केही दिन भोकै बसेको स्मरण गराउनुभयो । अहिले भने उहाँलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छैन ।
    
विराटनगर महानगरपालिका वडा नं १४ निवासी रामभरोस सहनीले आफूले यो खाना लगातार २० दिनदेखि खाइरहेको भन्दै खाना मीठो र स्वादिलो रहेको प्रतिक्रिया दिनुभयो । रिक्सा चालक उहाँ पनि अहिले बेरोजगार हुनुहुन्छ । उहाँको अहिले योबाहेक अर्को छाक टार्ने विकल्प केही छैन ।
    
कामका क्रममा विराटनगर आएका तेह्रथुम निवासी रत्न श्रेष्ठको पनि अहिले रोजगारी छैन । अहिले सबैतिर काम बन्द छ, जसका कारण हातमुख जोर्ने उपाय केही छैन । उहाँ पनि यो खाना खुवाउने अभियानबाट खुशी व्यक्त गर्नुभयो । यस्तै बजारमा प्लाष्टिक टिप्ने विराटनगर मिलन चोक निवासी प्रेम विक, ठेला चलाउने रामपुर निवासी भिखारी मण्डल र मोरङको बूढीगङ्गा गाउँपालिका निवासी मजदूरको काम गर्ने अशोक सरदारले पनि खाना खान पाउँदा खुशी व्यक्त गर्दै भन्नुभयो, “यो काम अन्य मानिसले पनि गरेमा देशमा समस्यामा परेका मानिसले राहत पाउँथे ।” 

गरीब तथा विपन्न परिवारलाई यसरी खाद्यान्नको जोहो गर्दै आएको यही युवा समूहले अहिले चिसोबाट बच्नका लागि न्यानो लुगा, जुत्ता, चप्पल आदिको व्यवस्थामा जुटेको छ । यो समूहले अहिले करीब तीन हजार मानिसलाई न्यानो लुगा, जुत्ता चप्पल तथा आवश्यक सामग्री वितरण गरिसकेको छ भने यो कामलाई निरन्तर अगाडि बढाउने जनाएको छ । 
    
अहिले यस समूहमा दीपा दर्नाल, मञ्जु मण्डल, कञ्चन साह, विशाल साह, रुपेश कर्ण, रुपेश दास र कृष्चल आलेलगायतको सक्रिय सहभागिता छ । उहाँहरुले समस्यामा परेका मानिसको सूचना सङ्कलन गर्ने, उनीहरुको खोजी गर्ने, लुगाको व्यवस्था गर्नेजस्ता काम गरिरहनुभएको छ । यस कार्यमा आवश्यक व्यवस्था मिलाउन कृष्ण पार्टी प्यालेसले निःशुल्क कोठाको व्यवस्था गरिदिएको छ । यहाँ लुगाफाटो मिलाउने, प्याकेज बनाउने, निजीरुपमा प्राप्त भएको लुगा लगाउन लायक छ कि छैन हेर्ने र लायक भएकालाई ड्राई क्लिनिकमा लगेर धुलाइ ल्याउने र सम्बन्धित मानिसलाई वितरण गर्ने काम हुने गरेको छ ।
     
यी युवा समूहको काम देखेर काठमाडौँ ठमेल निवासी युवा व्यवसायी कमल गौतमले ५१ थान ब्लाङ्केट, स्नेहा अपरेल्स गार्मेन्ट विराटनगरका रामकाजी थापाले २०० थान ट्राउजर र भेस्ट, बन्दाबन्दीमा दिनहुँ तरकारी दिएर सहयोग गर्ने मोरङ कटहरीका कोपेन्द्र सिंहले १०० थान टोपी, हाइलाइफ जुत्ता कम्पनीका सञ्चालक विकास चौधरीले १५० थान जुत्ता, काठमाडौँकै युवा व्यवसायी अञ्जु सिंहले १०० थान टोपी र ७० जोर मोजा, विराटनगर महानगरपालिका वडा नं ९ का पूर्ववडाअध्यक्ष एवं समाजसेवी चन्दु धाडेवालले स्वेटर तथा आर्थिक सहयोग गरेर युवाको यो परोपकारी कामलाई थप ऊर्जा एवं हौसला प्रदान गर्नुभएको छ ।
    
यी युवा समूहले विराटनगरका मानव सेवा आश्रम, वृद्धाश्रममा न्यानो लुगा वितरण गर्नुका साथै सडक पेटीमा बस्ने लुगाको अभावमा रहेका गरीब बस्तीमा गएर लुगा वितरण गरिरहेका छन् । उहाँहरुले विराटनगर महानगरपालिका वडा नं १९ अन्तर्गत एक बस्तीमा गएर २०० परिवारलाई न्यानो लुगा वितरण गर्दा यहाँका नागरिक निकै खुशी भएको युवा वसिमले जानकारी दिनुभयो । 
    
उहाँले विराटनगर महानगरपालिकाकै वडा नं १२ मा रहेको जनता आदर्श विद्यालयमा गरीब तथा विपन्न परिवारका विद्यार्थीको बाक्लो उपस्थिति रहेको र ती विद्यार्थीमा न्यानो लुगाको अभाव रहेकाले विद्यालयका प्रधानाध्यापक नरहरि कोइरालाको आग्रहमा न्यानो लुगा, जुत्ता, चप्पल वितरण गर्ने आवश्यक प्रबन्ध मिलाइरहेको बताउनुभयो । 
    
उहाँले अहिले पनि काम गर्न नसक्ने र शरीर कमजोर रहेका मानिसको खानाको व्यवस्था गरिरहेको र उहाँहरु खुशी भएको देख्दा मन हर्षित हुने गरेको चर्चा उहााँले गर्नुभयो । विराटनगर अनाथ आश्रमकी सञ्चालक सीता पोखरेलले यी युवा विपन्न एवं गरीब तथा समस्यामा परेका मानिसका लागि भगवान नै भएको भन्नुभयो । उहाँहरुको यो पवित्र अभियानमा सबैले सहयोग गर्नुपर्ने पोखरेलले बताउनुभयो । 

विराटनगरका यी युवाको प्रेरणाबाट इञ्जिनीयर अमर मण्डलले सप्तरीमा र रुपेश मण्डलले धनपाल थानमा यस्तै काम शुरु गुर्नभएको छ । न्यानो लुगा प्राप्त गरेको स्थानीय शिवशङ्कर साह निकै खुशी हुनुहुन्छ । साहले भन्नुभयो, “हामीसँग पैसा हुँदैन, काम गर्न पनि सकिँदैन, यस्तो अवस्थामा उहाँहरुले हाम्रो आङ मात्र होइन जीवन नै बचाउनुभएको छ ।”