२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’

पर्यटकीय क्षेत्रको विकासमा जुर्मुराउँदै प्रदेश र स्थानीय सरकार

पर्यटकीय क्षेत्रको विकासमा जुर्मुराउँदै प्रदेश र  स्थानीय सरकार
अ अ+ अ-

भोजपुर । जिल्लामा राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका धेरै ऐतिहासिक धरोहर रहेका छन् । खुकुरीका लागि प्रख्यात भोजपुरमा देशभरका लागि आवश्यक पर्ने मुद्रा अर्थात् टक काट्ने ऐतिहासिक स्थान पनि छ । पहिलो संस्कृत पाठशाला पनि यही जिल्लामा स्थापना भएको थियो । पछिल्लो समय यहाँका पर्यटकीय, ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षणमा स्थानीय तथा प्रदेश– १ सरकार जुटेका छन् ।

यहाँका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रमा सिद्धकाली देवी मन्दिर–भोजपुर, नागछाँगा– बैकुण्ठे, पशुपति मन्दिर–तिम्मा, रामजानकी मन्दिर– दिङ्ला, ट्याम्केडाँडा– नागी, सिलिचुङ डाँडा, नेपालको पहिलो बौद्ध विहार–टक्सार, च्याङ्ग्रे पोखरी– च्याङ्ग्रे, सन्तानेश्वर महादेवथान गुफा, साल्पापोखरी–दोभाने, कालिकादेवी–ओख्रे, सेल्मे डाँडा, सुन्तले डाँडा, दिङ्ला बजार, अरुणडाँडा, मैयुङ डाँडालगायत छन्  ।

त्यस्तै बेहेश्वर मन्दिर– भुल्के, हतुवागढी, अरुणको कात्तिकेघाट, हाँसपोखरी, घोडेटार र नेपालेडाँडाबाट सोलुखुम्बुको नाम्चे बजार जाने पदमार्गलगायत प्रमुख क्षेत्र हुन् ।  सिचिलुङ चुचुरो भोजपुरको सबैभन्दा अग्लो स्थान हो, जसको उचाइ चार हजार १४३ मिटर छ । यहाँका पर्यटकीय क्षेत्रको विकास तथा विस्तारमा प्रदेश – १ सरकारसँंगै स्थानीय तहले प्राथामिकता निर्धारण गरेका छन् ।

मुन्धुम पदमार्ग : सङ्घीय सरकारले निर्धारण गरेको घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्धुम पदमार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको छ । प्रदेश– १ सरकार, स्वीस सरकार र टेम्केमैयुङ गाउँपालिकाको संयुक्त लगानीमा यहाँ पदमार्ग निर्माण भइरहेको छ । पाँचधारेबाट सिलिचुङ चुचुरासम्ममा करीब ५८ किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्यका साथ निर्माण भइरहेको टेम्केमैयुङका अध्यक्ष ध्रुवराज राईले जानकारी दिनुभयो ।

पदमार्गका लागि रु दुई करोड लागतमध्ये पहिलो चरणमा रु ९९ लाख बराबरको काम हुनेछ । दोस्रो चरणमा चियाघर, खानेपानी, शौचालय, विश्रामस्थल निर्माणसँंगै पर्यटकका लागि खाना–बस्नका लागि अन्य संरचना निर्माण हुने बताइएको छ । 

विशेष गरेर विदेशी पयर्टकलाई लक्ष्य गरेर निर्माण हुँदै गरेको पदमार्गमा सिमेन्ट प्रयोग नगरी स्थानीयस्तरको स्रोतसाधनको प्रयोग गर्दै विश्रामस्थल, चौतारा फँलैचा निर्माण हुने निर्माण समितिका अध्यक्ष पाविहाङ राईले जानकारी दिनुभयो ।

सो पदमार्गमा पर्ने डाँडाबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी  हिमशृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ । पहिलो चरणको पदमार्ग निर्माणको काम डेढ वर्षमा सम्पन्न हुने जनाइएको छ ।

त्यस्तै पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश –१ सरकारले तीन हजार ११० मिटर उचाइमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र ‘टेम्के डाँडामा भ्यु टावर’ निर्माणको काम थालनी गरेको छ ।  सरकारले किराँत राईहरुको संस्कृति झल्कने तरिकाबाट टावर निर्माण गर्न लागेको हो । यसले पर्यटन प्रवद्र्धनसंँगै स्थानीयवासीको संस्कार, संस्कृतिको पहिचान जोगाउन सहयोग पुग्ने प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । सो टावर नेपालकै एक नमूना बनाइने उहाँको जिकिर छ । यसलाई किराँत पहिचानका रुपमा चिन्डो आकारमा विसं २०८२ सम्म निर्माण गरिने छ ।  

सो डाँडाबाट तराईका फाँटसँंगै सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्सेलगायत आठ हजार मिटर अग्ला ६ र  अन्य ३३  हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । 

प्रदेश सरकारको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाको रु १३ करोड ६२ लाख लागतमा टावर बन्ने भएपछि स्थानीयवासीमा उत्साह थपिएको हो । भ्यु टावरको शिलान्याससँंगै आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढ्न थालेको स्थानीयले बताउने गरेका छन् । सो डाँडाबाट नजीकै रहेको तावा भञ्याङमा पोखरी निर्माणसमेत बनाइने प्रदेश सरकारको योजना छ । 

सो स्थानमा रामनवमी र बालाचतुर्दशीमा वर्षमा दुई पटक मेला लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्य तथा जैविक विविधतालाई क्षति नपुग्ने गरी टावर निर्माण गरेमा यसले आर्थिक रुपमा समेत टेवा पुग्ने स्थानीयवासीले बताउने गरेका छन् । 

त्यस्तै  पौवादुङ्मा गाउँपालिका पर्यटकीय क्षेत्रको विकाससँंगै ऐतिहासिक सम्पदाको संरक्षणमा जुटेको छ ।  गाउँपालिकाले ऐतिहासिक तथा धार्मिक क्षेत्र कोटगढी, ‘दोस्रो हलेसी’सन्तानेश्वर मन्दिर, दुङ्माली भाषा संरक्षण केन्द्र, च्याङ्ग्रे पोखरी, अरुण डाँडालगायत ठाउँको संरक्षण तथा विकासको थालनी गरेको हो ।  

गाउँपालिका केन्द्र नजीकै रहेको कोटगढीको संरक्षणका लागि श्रमदानसहित रु ५० लाख  लागतमा बाटो निर्माणको काम सम्पन्न भएको छ ।  ऐतिहासिक कोटगढीको संरक्षण तथा विकासमा ध्यान दिइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । अध्यक्ष राईले भन्नुभयो,‘‘गाउँपालिकालाई आर्थिक रुपमा विकास गर्नका लागि अन्य क्षेत्रसंँगै पर्यटकीय तथा ऐतिहासिक धार्मिक क्षेत्रको विकासमा योजनाबद्ध रुपमा लागेका छौँ, मुख्य पर्यटकीय क्षेत्रको विकासका लागि डिपिआर तयार गरेर  गाउँपालिका तथा प्रदेश सरकारसँंग पनि सहकार्य गरेर काम अगाडि बढाएका छौँ ।’’

भावीयोजनामा चिवाचुङ डाँडा, छ्याङ्गी मन्दिर, भाते ढिकुरा, आहाल डाँडा, (डिपिआर बनिरहेको) गुफानागी, दिर्गे डाँडा, दिदीबहिनी डाँडा, मालिका डाँडा, मार्गपोखरी र डुडेगैरा, आहाललगायत पर्यटकीय क्षेत्रको विकास तथा संरक्षणका लागि काम गरिने गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो ।

स्थानीयवासी ज्ञानेन्द्र राईले भन्नुभयो,‘‘गाउँपालिकाले पर्यटकिय क्षेत्रको विकासमा गरिरहेका काम निकै राम्रो छ, यसरी गाउँपालिकाका पर्यटकिय र धार्मिक क्षेत्रको पहिचान गरेर विकासको थालनी गर्दा हामीलाई निकै खुसी लागेको छ, यसले आर्थिक विकाससंगै  ऐतिहासिक क्षेत्रहरुको संरक्षण हुने देखिन्छ ।

त्यसैगरी दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाले पनि आफ्नो क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरेर विकास विस्तार गर्न थालेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । त्यस्तै प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यटकीयस्थल शङ्खमचुलीमा  भ्यु टावर निर्माण भइरहेको छ । अन्य पर्यटकिय क्षेत्रको समेत डिपिआर तयार गरेर काम गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

रामप्रसादराई गाउँपालिकाले  प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल नाँग छाँगा, चुलाचुली गुफा, गोल्मेभिरलगायत स्थानलाई आफ्नो आर्थिक स्रोतका रुपमा विकास गर्न डिपिआर तयार गरेको गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिनुभयो ।  गाउँपालिकाले पर्यटन क्षेत्रको विकासमा हालसम्ममा रु एक करोडभन्दा बढी लगानी गरिसकेको गाउँपालिका उपाध्यक्ष सम्झनाले जानकारी दिनुभयो । 

उत्तरी क्षेत्रमा अवस्थित दिङ्लाको षडानन्द नगरपालिकाले पनि पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको छ । शिक्षाको ज्योति फैलाउने बालागुरु षडानन्दको सम्मानस्वरुप प्रदेश –१ सरकारको रु ६ करोड लागतमा बहुउद्देश्यीय धर्मशालाको निर्माण भइरहेको छ । त्यस्तै नगरपालिकाले तत्काललाई रु १५ लाख बजेटको व्यवस्था गरेर आफ्ना क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको खोजी गर्दै संरक्षण तथा विकासका लागि कामको थालनी गरिसकेको नगरपालिका उपप्रमुख मेरिका राईले जानकारी दिनुभयो । उहाँका अनुसार नगर क्षेत्रमा योगमायाको समाधिस्थल मजुवाबेँसी, कैलाश डाँडा, रामचन्द्र मन्दिर, रानीवन चित्रगुप्तालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विस्तार भइरहेको छ । त्यस्तै वडा–३ खार्ताम्छामा १३९ मिटर उचाइको जिल्लाको सबैभन्दा अग्लो छाँगे झर्ना विकासको काम भइरहेको छ । फाली दोबाटो, चाँप डाँडा, भोटेछाप, साउने झर्ना, टाइगर झर्नालगायतको पनि विकास र विस्तार भइरहेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै यही महिनादेखि नगरपालिकाको पखुवाभञ्याङबाट रु ७१ लाख लागतमा १२ किलोमिटर मुन्धुम पदमार्ग निर्माणको थालनी गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिकामा रहेका महभीर झर्ना, माक्सा झर्ना, सावा झर्ना, भोजपुर मझौलेमा रहेको सिरवानी पोखरी, मलवा पोखरीलगायत प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय सरकार जुटेको छ ।

टेम्केमैयुङ– १ सावामा गाउँपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त लगानीमा सामूहिक घरबास पर्यटन सञ्चालनमा ल्याइएको छ ।  छिनामखुमा पनि प्रदेश– १ सरकार तथा गाउँपालिकाको सहयोगमा घरबास सञ्चालनमा छ । यहाँ सञ्चालन भएका घरबासमा स्थानीय परिकारसँगै स्थानीय संस्कार र  संस्कृतिको प्रवद्र्धन गरिने गाउँपालिकाले जनाएको छ । युवराज विष्ट/रासस