काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित नेपाली राजदूत गौरवशमशेर जबराले नेपाल–बेलायत सम्बन्धलाई आर्थिक कूटनीति, व्यापार, लगानी र प्रविधि हस्तान्तरणमार्फत थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै पूर्वप्रधानसेनापति जबराले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई २१औँ शताब्दीको आवश्यकताअनुसार विस्तार गर्ने बताउनुभएको हो ।
जबराले आफूलाई पूर्वसैनिक नेतृत्वकर्ताका रूपमा मात्र सीमित नराखी नेपाल सरकार र नेपाली जनताको प्रतिनिधिका रूपमा काम गर्ने स्पष्ट पार्नुभयो । सन् १८१६ देखि कायम नेपाल–बेलायत कूटनीतिक सम्बन्धलाई नवीकरणीय ऊर्जा, शिक्षा र जलवायु परिवर्तनजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्दै नयाँ उचाइमा पुर्याउने उहाँको भनाइ छ ।
उहाँले आफ्नो कार्यकालका लागि पाँच प्रमुख प्राथमिकता निर्धारण गर्नुभएको छ । आर्थिक कूटनीतिअन्तर्गत बेलायती लगानी, प्रविधि र विशेषज्ञतालाई नेपालको विकाससँग जोड्ने, हरित अर्थतन्त्र, हिमाली जैविक विविधता तथा वातावरण संरक्षणमा साझेदारी बढाउने र बेलायतस्थित नेपाली समुदायलाई नेपालको विकासको सेतुका रूपमा परिचालन गर्ने उहाँका प्राथमिकता छन् ।
त्यसैगरी संसदीय तथा सार्वजनिक कूटनीतिलाई व्यापक बनाउने र ब्रिटिस गोर्खा सैनिकसँग सम्बन्धित विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने योजना पनि उहाँले प्रस्तुत गर्नुभएको छ ।
आफ्नो लामो सैनिक सेवाकाल र अनुभवले बेलायतसँगको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै जबराले संस्थागत निरन्तरता र राष्ट्रिय हितको प्रवर्द्धनलाई मुख्य ध्येय बनाउने बताउनुभयो ।
बेलायतसँगको गोर्खा सम्बन्धलाई विशेष महत्त्व दिँदै उहाँले आफ्नो सैन्य पृष्ठभूमि र रोयल मिलिटरी एकेडेमीमा तालिम लिएको अनुभवले दुई देशबीचको सैन्य कूटनीतिलाई थप सहज बनाउन सक्ने संकेत गर्नुभयो ।
नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक, प्राविधिक र जनस्तरको सहकार्यमा रूपान्तरण गर्दै नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्ने जबराको कार्ययोजनाको मुख्य लक्ष्य देखिएको छ ।








