काठमाडाैँ । नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रिया सहज बनाउन सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरेको छ। संशोधित व्यवस्थाअनुसार अब सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने भएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले सवारी दर्ता, नामसारी, बीमा तथा बीमा नवीकरणसम्बन्धी सेवामा सेवाग्राहीलाई सहजता प्रदान गर्नेछ।
नयाँ व्यवस्थाअनुसार डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। यससँगै डिलरबाट जाँच भइसकेको सवारी साधन पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन।
त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएर आफ्नो सट्टामा अर्को व्यक्तिमार्फत सवारी दर्ता तथा नामसारीको काम गराउन सक्नेछन्। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, सवारी खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
संशोधित व्यवस्थाले सवारी साधनको बीमा तथा बीमा नवीकरणका लागि पनि सवारीधनी स्वयं उपस्थित हुनुपर्ने बाध्यता हटाएको छ। यसबाट समय अभाव तथा अन्य कारणले यातायात कार्यालयमा उपस्थित हुन नसक्ने सवारीधनीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी, सवारी साधन नामसारीका क्रममा आवश्यक बायोमेट्रिक विवरण संकलन गर्न यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था गरिएको छ।
मन्त्रालयले संशोधित प्रावधानले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरेको छ।








