काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत चिरनजंग थापाले कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सोमबार संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै थापाले नेपालको राष्ट्रिय हितको संरक्षण र कूटनीतिक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको हो ।
थापाले अमेरिकामा रहेका नेपाली नागरिकलाई प्रभावकारी र सहज सेवा उपलब्ध गराउन कन्सुलर सेवामा सुधार गर्ने योजना सुनाउनुभयो । सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिँदै आवश्यक परे बिदाका दिनमा समेत सेवा प्रवाह गर्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्न परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने उहाँको भनाइ छ ।
अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका नेपाली नागरिक तथा नेपाली डायस्पोराको सञ्जाललाई नेपालको विकास, सांस्कृतिक सम्पदाको संरक्षण र फिर्तासम्बन्धी कार्यमा उपयोग गर्ने योजना पनि उहाँले प्रस्तुत गर्नुभयो ।
सुरक्षा सहयोगका विषयमा थापाले अमेरिकाले नेपाललाई प्रदान गर्दै आएको सहयोगको प्रशंसा गर्दै त्यसलाई नेपालको आवश्यकता र राष्ट्रिय प्राथमिकताअनुसार परिचालन गर्न पहल गर्ने बताउनुभयो । विशेषगरी प्रविधि र साइबर सुरक्षाका क्षेत्रमा देखिएका चुनौती सामना गर्न प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिने उहाँको योजना छ ।
नेपाल सरकारको निर्देशन र नीतिगत मार्गदर्शनभित्र रहेर शान्ति स्थापना तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा अमेरिकी सहयोगलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै थापाले नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर काम गर्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको राष्ट्रिय हितभन्दा ठूलो अरू केही हुँदैन । मलाई कुनै पनि संस्था वा व्यक्तिसँगको सम्बन्धले मेरो कूटनीतिक कार्यमा बाधा पुर्याउने छैन ।”
अमेरिकामा अध्ययन तथा काम गर्ने क्रममा आफूले बनाएका व्यक्तिगत सम्पर्कलाई कूटनीतिक पहुँच विस्तार गर्न र नेपाल–अमेरिकाबीच उच्चस्तरीय भ्रमणको वातावरण तयार पार्न उपयोग गर्ने पनि थापाले बताउनुभयो ।
कूटनीतिलाई ‘सम्झाउने र मनाउने कला’को संज्ञा दिँदै उहाँले आफ्नो अनुभव, सम्पर्क र कूटनीतिक सञ्जालको अधिकतम उपयोग गरेर दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो ।
थापाको कार्ययोजनामा कन्सुलर सेवाको सुधार, सुरक्षा तथा प्रविधिमा सहकार्य, नेपाली डायस्पोराको परिचालन र द्विपक्षीय सम्बन्ध विस्तारलाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ ।








