• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल ★   जसपाका मन्त्रीको शपथ ६ बजे ★   अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको सम्पूर्ण तयारी पूरा ★   उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट ★   ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” ★   क्यान कार्यसमितिमा रहेकाले अम्पायरिङ तथा प्रशिक्षण गर्न नपाउने भन्दै अख्तियारमा उजुरी ★   सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु

प्रधानमन्त्री देउवाले प्रेस युनियन महाधिवेशनको उद्घाटन गर्ने



मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको भोलि साउन ६ गते हेटौँडामा उद्घाटन गर्नुहुने भएको छ ।

सो महाधिवेशन सञ्चालनका लागि आवश्यक सभागृह तथा सहभागी प्रतिनिधिहरुलाई होटलहरुको व्यवस्थापनलगायत अन्य व्यवस्थापन मिलाइसकिएको महाधिवेशन आयोजक स्थानीय समितिका अध्यक्ष कुमार अधिकारीले जानकारी दिनुभयो ।

युनियनको साउन ६ र ७ गते हेटौँडामा सञ्चालन हुने महाधिवेशनमा नेपाल प्रेस युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठानबाट र सात वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ६५० जना सञ्चारकर्मीको सहभागिता रहने नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गिरिजाप्रसाद अधिकारीले बताउनुभएको छ ।
उहाँका अनुसार सोही महाधिवेशनबाट नेपाल प्रेस युनियनको आगामी नयाँ नेतृत्व पनि निर्वाचित हुने कार्यसूची रहेको छ । उक्त महाधिवेशनमा सहभागी हुन आउनुभएका प्रतिनिधिलाई बागमती प्रदेशको राजधानी हेटौँडाका अतिरिक्त चितवनको सौराहा र बाराको अम्लेखगञ्जस्थितका होटलमा राख्ने प्रबन्ध र आवतजावतको लागि यातायातको सुविधा उपलब्ध गराइएको महाधिवेशन आयोजक आवास समितिका संयोजक रुपेश दुलालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भोलि हुने भ्रमणको कार्यक्रमलाई सफल तुल्याउन सुरक्षा निकायले आवश्यक तयारी पूरा गरिसकेका र स्थानीय बजारमा यातायात सञ्चालनको लागि वैकल्पिक मार्गको व्यवस्थापन मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभएको छ ।