काठमाडौँ । साहस उर्जा लिमिटेडले साधारण शेयर (आईपीओ) मा आवेदनको लागि आज अन्तिम दिन रहेको छ । कम्पनीले कुल ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) म्युचुअल फण्ड र ३ प्रतिशत (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ ।
असोज ८ गतेदेखि खुलेको आईपीओमा शुक्रबार दिउँसोसम्म १७ लाख बढीले आवेदन दिइसकेका छन् । त्यसयता (हिजो) शनिबार पनि र (आज) आइतबार पनि आवेदन दिनेहरु थपिएका छन् । उक्त कम्पनीको आईपीओमा आवेदन दिन आज कार्यालय समयसम्म मिल्ने बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले जनाएको छ ।
बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाइने बिक्री प्रबन्धकले जनाएको छ ।
हाल आईपीओमा २४ लाखले आवेदन दिने गरेका छन् । तसर्थः उक्त कम्पनीले सर्वसाधारणका लागि छ्ट्याएको ६४ लाख ४० हजार कित्ता सेयर गोलाप्रथाबाट ६ लाख ४४ हजार जनाले १०–१० कित्ताका दरले पाउने छन् । त्यसकारण लगानीकर्ताहरुले १० कित्ताका लागि मात्र आवेदन दिंदा उपयुक्त हुने देखिन्छ ।