काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताबाट विराटनगर वारियर्सको यात्रा समाप्त भएको छ ।
शनिबार भएको खेलमा पोखरा राइनोजसँग ७ विकेटले पराजित भएसँगै विराटनगर एक खेल अगाबै लिग चरणबाट बाहिरिएको हो ।
कीर्तिपुरका त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
पोखराको जितमा असेला गुनारत्नेले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । उनले २४ बलमा ३ छक्का र ४ चौका प्रहार गरे ।
यसतै, रिचर्ड लेभीले २६ बलमा ४७ रनको योगदानी दिए । उनले पनि ३ छक्का र ४ चौका प्रहार गरे । यस्तै साहन अर्चाचिगेले ४३ रनको योगदानी दिए ।
विराटनगरका प्रतिष जिसी, सिकन्दर राजा र हरी चौहानले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।
विराटनगरका लागि आसिफ शेखले ३३ बलमा सर्वाधिक ४४ रन जोडे । उनले ६ चौका प्रहार गरे । यस्तै सिकन्दर राजाले २० बलमा २९ रन जोडे ।
सन्दीप रजालीले २८ रनको योगदान गरे । कप्तान करण केसीले ९ बलमा २४ रन बनाए ।
पोखराका बिक्रम सोवले २ विकेट लिँदा विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले एक–एक विकेट लिए ।
यो जितसँगै चार खेलमा २ जित र एक खेलमा अंक बाडेको पोखरा ५ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
लगातार चार खेलमा पराजय भोगेको विराटनगर भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगरले अंक जोड्न सकेको छैन ।