काठमाडौँ । रसुवा बाढी तथा त्यसबाट प्रभावित विभिन्न क्षेत्रमा मानवीय क्षति हुनेको संख्या १ हजार ३६७ पुगेको छ ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक विवरणअनुसार विभिन्न जिल्लामा गरी १ हजार ३६७ जनाको मृत्यु भएको हो ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन् । काठमाडौँमा उपचारका क्रममा रहेका दुई जनाको समेत मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ । सनाखत हुन बाँकी शवको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणित गर्ने कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ ।
बाढी तथा विपद्का कारण करिब ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ । रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन् । तीमध्ये रसुवा जिल्लाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी छन् ।
यस्तै, नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । तीमध्ये नुवाकोटका ६५१ र रसुवाबाहेक अन्य जिल्लाका १ हजार १३६ जना छन् । करिब ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । प्राधिकरणले सनाखत भएका शवको संख्या सम्पर्कविहीनको कुल संख्याबाट घटाइएको जनाएको छ ।
विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहत कार्यका लागि सुरक्षा निकायका २१ हजार १८५ जना परिचालन भएका छन् । नेपाल प्रहरीका ७ हजार ९७५, नेपाली सेनाका ९ हजार ७ जना र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन् ।
विभिन्न ३७ वटा होल्डिङ सेन्टरमा ३ हजार ६२८ जना राखिएका छन् । तीमध्ये रसुवामा ७३३, नुवाकोटमा २ हजार ६९९ र धादिङमा १९६ जना रहेका छन् ।
प्राधिकरणका अनुसार विभिन्न १० वटा अस्पतालमा ३२९ जनाको उपचार गरिएको छ । उपचारपछि २५२ जना डिस्चार्ज भइसकेका छन् । यसैगरी, नेपाली सेनाले ३ हजार ५३५ जना तथा सशस्त्र प्रहरी बलले ३ हजार २८७ जनालाई उपचार सेवा प्रदान गरेको प्राधिकरणले जनाएको छ ।
न्यूजपोलार
२४ भाद्र २०८३, बुधबार १२:०७
न्यूजपोलार
२४ भाद्र २०८३, बुधबार १२:०७
२४ भाद्र २०८३, बुधबार १२:०७








