२४ भाद्र २०८३, बुधबार
,
Latest
झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ



अ+ अ-

काभ्रेपलाञ्चोक । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सरकारले यातायातसम्बन्धी नयाँ कानुन ल्याउँदा त्यसको कार्यान्वयनका लागि आवश्यक उपकरण, बजेट, जनशक्ति र संस्थागत संयन्त्रसमेत तयार गर्नुपर्ने बताउनुभएको छ ।

बागमती टिपर व्यवसायी संघको १२औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रलाई बनेपामा सम्बोधन गर्दै अध्यक्ष बानियाँले कानुन बनाउने तर त्यसलाई कार्यान्वयन गर्ने संयन्त्र नबनाउने प्रवृत्तिले समस्या सिर्जना गरिरहेको बताउनुभयो ।

उहाँले सवारीसाधनमा ड्यास क्यामेरा तथा अन्य क्यामेरा जडान गर्ने विषय सकारात्मक भए पनि त्यसबाट प्राप्त विवरणको अनुगमन र प्रयोग कसले गर्ने भन्ने स्पष्ट हुनुपर्ने बताउनुभयो । व्यवसायीले २०–३० हजार रुपैयाँ खर्च गरेर त्यस्ता उपकरण जडान गरे पनि त्यसको प्रभावकारी अनुगमन गर्ने निकाय नहुँदा त्यसको औचित्यमाथि प्रश्न उठ्ने उहाँको भनाइ थियो ।

“हामी क्यामेरा राख्छौँ, २०–३० हजार रुपैयाँ खर्च गरेर यस्ता डिभाइस राख्छौँ । तर त्यसको अनुगमन गरिदिने को हो भन्ने हाम्रो प्रश्न हो,” उहाँले भन्नुभयो ।

अध्यक्ष बानियाँले सवारी तथा यातायातसम्बन्धी कानुनमा मादक पदार्थ सेवन गरी सवारी चलाउन नपाइने व्यवस्था भए पनि त्यसको कार्यान्वयनका लागि ट्राफिक प्रहरीसँग आवश्यक उपकरण र परीक्षण सामग्री पर्याप्त नभएको बताउनुभयो । ट्राफिक प्रहरीसँग ब्रेथलाइजर र लागुऔषध परीक्षणका लागि आवश्यक किटको अभाव रहेको भन्दै व्यवसायी तथा सम्बन्धित संस्थाले सहयोग गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।

उहाँले एउटा लागुऔषध परीक्षण किटको मूल्य करिब ४ सय रुपैयाँ पर्ने भए पनि प्रहरीसँग पर्याप्त किट नहुँदा परीक्षण प्रभावकारी हुन नसकेको बताउनुभयो । कानुन कार्यान्वयनका लागि बजेट मात्रै छुट्याएर नपुग्ने भन्दै आवश्यक जनशक्ति र उपकरणको व्यवस्था पनि सँगसँगै गर्नुपर्ने उहाँले बताउनुभयो ।

“कानुन ल्याउने हो भने त्यो कानुन कार्यान्वयन गर्न बजेट विनियोजन गर्नुपर्छ । बजेटसँगै आवश्यक जनशक्ति पनि तयार गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

अध्यक्ष बानियाँले नेपालमा कति सवारीसाधन सञ्चालनमा छन् भन्ने यकिन तथ्यांकसमेत सरकारसँग नरहेको दाबी गर्नुभयो । प्रदेश संरचनामा गएपछि सातै प्रदेशले आफ्नै ढंगले सवारीसाधन दर्ता गर्ने भएकाले केन्द्रमा एकीकृत तथ्यांकको अभाव रहेको उहाँको भनाइ थियो ।

विशेषगरी ट्रक, टिपर, डोजर, लोडर, एक्स्काभेटरलगायत मालवाहक तथा निर्माण क्षेत्रमा प्रयोग हुने सवारीसाधनको यकिन संख्या सरकारसँग नहुँदा तथ्यमा आधारित यातायात नीति बनाउन कठिन हुने उहाँले बताउनुभयो ।

“अहिले कति सवारीसाधन छन् भन्ने कुरा नै नेपाल सरकारलाई थाहा छैन । केन्द्रित डाटा नभएको अवस्थामा सरकारले कसरी यातायात नीति ल्याउने ?” उहाँले प्रश्न गर्नुभयो ।

यातायात नीति बनाउँदा आगामी पाँच वर्षमा दुर्घटना, मृत्यु र घाइतेको संख्या कति घटाउने भन्ने स्पष्ट लक्ष्यसमेत निर्धारण गर्नुपर्ने उहाँको भनाइ थियो । अहिले दैनिक औसत सात जनाको सडक दुर्घटनामा मृत्यु भइरहेको र ठूलो संख्यामा मानिस घाइते भइरहेको उल्लेख गर्दै उहाँले पाँच वर्षभित्र दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्या उल्लेख्य रूपमा घटाउने लक्ष्यसहितको नीति आवश्यक रहेको बताउनुभयो ।

“यातायात नीतिले अबको पाँच वर्षभित्र प्रतिदिन सात जनाको मृत्यु हुने दरलाई तीन जनामा झार्ने, दुर्घटनामा घाइते हुनेको संख्या पनि उल्लेख्य रूपमा घटाउने लक्ष्य लिनुपर्छ,” उहाँले भन्नुभयो ।

नीति निर्माणका लागि सही तथ्यांक आवश्यक पर्ने भन्दै उहाँले सरकारलाई यातायात क्षेत्रसँग सम्बन्धित तथ्यांक संकलन, व्यवस्थापन र अनुगमन गर्ने प्रभावकारी संस्थागत संरचना निर्माण गर्न आग्रह गर्नुभयो । कानुन र नीति बनाउने मात्रै नभई त्यसको कार्यान्वयन सुनिश्चित गर्ने निकायसमेत निर्माण गर्नुपर्ने उहाँको जोड थियो ।

कार्यक्रममा अध्यक्ष बानियाँले पछिल्लो समय प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

बागमती टिपर व्यवसायी संघले आफ्नो महासंघलाई सम्मान गर्दै १२औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेकोमा उहाँले आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।

देशको बदलिँदो परिस्थिति र संकटका बीच भौतिक पूर्वाधार तथा विकास निर्माणमा प्रत्यक्ष संलग्न व्यवसायीले चुनौतीलाई अवसरका रूपमा लिएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । मालवाहक सवारीसाधन क्षेत्र देशको भौतिक पूर्वाधार तथा विकास निर्माणको महत्वपूर्ण आधार रहेको भन्दै व्यवसायीका समस्या समाधानका लागि सरकारसँग निरन्तर समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।