काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थितिबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
भदौ १० गते आएको बाढीपछि जारी खोज तथा उद्धार, राहत वितरण, घाइतेको उपचारलगायतका गतिविधिबारे विस्तृत जानकारी लिन र आवश्यक निर्देशन दिन प्रधानमन्त्री शाहले छलफल थालेका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्।
प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको छ।
छलफलमा बाढीपछि प्रभावित क्षेत्रमा भइरहेका खोज तथा उद्धारका काम, राहत वितरण, उपचार तथा सुरक्षा व्यवस्थापनलगायत विषयमा जानकारी लिएर आगामी कार्ययोजनाबारे आवश्यक निर्देशन दिने बताइएको छ।









