२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाखको दोस्रो सातासम्ममा मेलम्चीको पानी सुन्दरीजल आइपुग्ने



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट मेलम्चीको पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर सुन्दरीजलतर्फ पथान्तरण गर्नुभएको थियो ।

गत वर्ष पानी पथान्तरण गरिएको १२ दिनमा पानी आइपुगेको र यो वर्ष पनि दुई साताको हाराहारीमा आइपुग्ने अनुमान गरिएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । सुरुङभित्र ग्यालथुम र सिन्धु र सुन्दरीजलमा सुरुङ सफा गरेर मात्रै पानी सुन्दरीजलमा झारिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एकएक दिन त्यहाँ सफा गरेर पनि दुई सातामा पानी सुन्दरीजल आइपुग्न सक्छ ।”

ग्यालथुम, सिन्धु र सुन्दरीजलमा सुरुङ सफा गरेर उतैको खोलामा झारिने र सुन्दरीजलमा सफा गरेर पानी बाग्मतीमा झारिने सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँका अनुसार गत वर्षजस्तै नदीहरुमा पानी झार्दा पानीको बहाव केही बढ्नसक्छ । उहाँले भन्नुभयो, “हामीले सूचना प्रकाशित गरेर स्थानीयवासीलाई सर्तक बनाउनेछौँ ।” सुरुङभित्र रहेका विभिन्न अडिटहरुबाट सुरुङको सफाइ बर्सेनि गर्नुपर्ने उहाँले बताउनुभयो । गत वर्ष नै सञ्चालनमा आइसकेका सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा समस्या छैन ।

सरकारले गत वर्ष फानुनमा नै मेलम्चीको पानी काठमाडौँमा ल्याएर वितरण सुरु गरेको थियो । विसं २०७७ फागुन १० गते मेलम्चीबाट पानी पथान्तरण गरिएकामा फागुन २२ गते सुन्दरीजलमा पानी आइपुगेको थियो । सुरुमा दैनिक १७ करोड लिटरबाट सुरु गरेर दैनिक ५१ करोड लिटर पानी वितरण भइरहेको थियो । असार १ गते मेलम्चीमा आएको बाढीका कारण आयोजनामा पुगेको क्षतिका कारण झण्डै नौ महिनादेखि पानी काठमाडौँ ल्याउन सकिएको थिएन ।

आयोजनाले पहुँच सडक निर्माण भएसँगै सुरुङमा गेट नं १, ९ र ३८ मा मर्मत गरेको थियो । वैकल्पिक प्रणालीमा नदीको पानी गेट नं १ बाट भित्र पठाइएको छ र ३८ ले नियन्त्रण गरेको छ । गेट नं ९ बाट पुनः खोलामा पठाइन्छ । गत महिनामा यी तीन गेटमा मर्मत र गेट नं १ देखि ९ सम्म २१० मिटर लम्बाइको सुरुङ सफाइ गरिएको थियो ।

मुख्य सुरुङसँग जोडिएको सहायक सुरुङका रुपमा रहेको अम्बाथान अडिटमा सफाइ गरिएको थियो । मेलम्ची नदीबाट सुरु भएको २९८ मिटर लामो सो अडिटबाट भित्र गएर मुख्य सुरुङमा जोडिन्छ । यो सुरुङमा बाढीका कारणले गिट्टी बालुवा र ढुङ्गा थुप्रिएकोमा यो सफा गरिएको हो ।

आयोजना निर्माणकै क्रममा कतिपय संरचनामा अहिले क्षति पुगेकाले अस्थायीरुपमा चलाउने योजना बनाइएको छ । गेट नं १ र ९ मा पहिले विद्युतीय प्रविधिबाट चल्ने उपकरण राखिएको थियो । पहिले गेट तल माथि गर्ने र बन्द तथा खोल्ने काम विद्युतीय प्रविधिमा हुने गरी संरचना बनाइएकामा अहिले अस्थायीरुपमा मानवले गर्नुपर्छ ।

आयोजना मर्मतअघि बढाइएसँगै स्थानीयवासीले खोला छेउमा रहेका बस्तीको सुरक्षामा पहिले ध्यान दिनुपर्ने माग गरेका छन् । बाढीका कारण गत वर्ष खोला छेउमा थुप्रिएको गेग्र्यान हटाउनुपर्छ भन्ने स्थानीयवासीले माग गरेका छन् । नदी नजिकै रहेका बस्तीका बासिन्दाले गेग्र्यानका कारण पुनः गत वर्षको नियति दोहोरिन सक्ने आशङ्का गरेका छन् ।

सडक र संरचना मर्मतको काम अहिले अस्थायीरुपमा मर्मत गरेपछि नै आयोजनाको सफाइको काम गरिएको हो । खानेपानी मन्त्रालय र एसियाली विकास बैंक (एडिबी) ले आयोजनामा पुगेको क्षति अध्ययन गरिरहेको छ । अरू कतिपय निकायले त्यहाँको वातावरण र भौगर्भिक अवस्थाका बारेमा अध्ययन गरिरहेको छ । पहिले अध्ययन प्रतिवेदन आएपछि नै स्थायी संरचना निर्माणमा जान सकिन्छ । यो आवको अत्यसम्ममा अध्ययन प्रतिवेदन आउनसक्ने उहाँको भनाइ थियो ।

दुई दशक पहिले सुरु भएको आयोजना निर्माण अन्तिम काम पुग्दा गत वर्ष असार १ मा आएको बाढीले क्षति पु¥याएको थियो । त्यसपछि वर्षाले आयोजनामा थप क्षति पु¥याएको थियो । आयोजनास्थलसम्म पुग्ने सडक नै भासिएकाले प्राविधिकसमेत आयोजनास्थल पुग्न सकेका थिएनन् । अस्थायीरुपमा सडक खुलाएपछि पुरिएको अवस्थामा रहेको संरचना खुलाएर पानी पथान्तरण गरिएको हो ।

आयोजनाअन्तर्गत समितिले आयोजनास्थलमा रहेका संरचना निर्माण र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेको छ । आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलबाट उपभोक्ताको घरघरसम्म पानी पु¥याउने संरचनको निर्माण गरिसकेका छन् । मुख्य पाइप, वितरण पाइप र उपत्यकाका १० ठाउँमा ठूला ट्याङ्की निर्माण भएका छन् । निर्देशनालयले बनाएका संरचनाको प्रयोग गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले घरघरमा पानी पु¥याउने जनाइएको छ ।