१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

के मेरो संस्कृति अब नासिदै छ ?



अ+ अ-

एक दिन बिहान बिहानी हिडाइँमा निस्कदा आमाले भन्नुभयो – "बाबु ! सोह्रश्राद्ध आयो, तीन चार मुठा सालको पात ल्याउनु है ।" आमाले भन्नु भएको कुरा सम्झिदै र आमाले संस्कृति–संरक्षणमा दिनुभएको अटल निष्ठाको कदर गर्दै म घरबाट बाहिर निस्किएँ ।

बिहानमा हिँड्दा पनि नेपाली समाजमा आएका परिवर्तनले आमा पुस्तालाई केही असर नगरेको र आफ्नो पुस्ता भने सोह्रश्राद्ध जस्ता परम्परादेखि गरिँदै आएका रीतिरिवाज र संस्कृति–संरक्षणमा सीमान्त पुस्ता बन्नु परेकामा दुःखेसो मान्दै र नयाँ संस्कृतिलाई आत्मसात गर्दा आउन सक्ने तगाराको कल्पना गर्दै हिँडेको थिएँ । अलि पढे लेखेका, केही गरौं, केही कमाउँ र जीवनस्तरमा सुधार ल्याउँ भन्ने मनस्थिति राखेका  हरेक युवायुवती अनन्त सपना बोकेर जीवनलाई चुनौतीपूर्ण बनाउँदै विदेशतिर लागेका छन् ।

विदेश जानेहरुमा पनि पढ्न भनेर जानेहरु नेपालमा काम गर्न फर्कनेको संख्या नगन्य मात्र छ । छोराछोरी नेपाल नफर्किने भएपछि बाबुआमालाई दुई किसिमका पीडाहरु आइपर्छन् –

१) गरिआएका कामको जिम्मेवारी कसलाई दिने ?

२) खाइ नखाइ गरेर जम्मा गरेको सम्पत्तिको व्यवस्थापन कसरी गर्ने ?

यी दुई वटा कुरामा चिन्ता गर्दागर्दै व्यक्ति आफैं बुढो हुँदै जान्छ र अन्तमा भएको सम्पत्ति पनि जेजस्तो मोल आउँछ बिक्री गरेर आफू पनि छोरा भएतिरै बसाई सर्ने गरेका देखिन्छन् । बिहानी यात्रा सकेर घर फर्कदै गर्दा आमाले भन्नुभएको पात किन्न सम्झिएँ र चाबहिलको फुटपाथमै राखेको पातको मुठातिर आकर्षित भएँ ।

चाबहिल गणेशको दर्शन गर्न जान लागेको एउटा अपरिचित दम्पतीमध्ये पत्नी भन्दै थिइन् – घरमा ताल्चा लगाएर अमीरका बाबुआमा अमेरिका जाने भएछन् । पतिले पत्नीलाई सम्बोधन गर्दै भने – सरिता, हामीलाई पो सबै थाहा छैन, अमीर जस्ता विदेश जानेहरु र अमीरका बाबुआमा जस्ता घरमा ताल्चा लगाएर विदेश जान बाध्य भएकाहरु धेरै छन् । मैले नजिकैबाट चिनेका मध्ये नै पनि नाराणका बुढाबुढी अमेरिका गएका छन् छोरी कहाँ, ध्रुवका बुढाबुढी अमेरिकै छन् छोराकहाँ, बलराम दाइ ६ महिना जापान बसेर आएका मात्र थिए अहिले यसै महिना युरोपको कुन देशमा हो छोराकहाँ जाँदैछन् । हाम्रै टोलको भौकाजी हिजो मात्र नर्वे गयो रे ।

पतिको कुरा सुन्दा सरिताले नरमाइलो मानेको देखिन्थ्यो । त्यसपछि उनीहरु गणेशथान भित्र छिरे । म पनि पातका मुठा लिएर घरतिर लागें ।  घर गएपछि आमालाई पातको मुठा दिएँ । आमाले भन्नुभयो – म छउञ्जेल पितृलाई सम्झने त हो नि । त्यसपछि कसले गर्ला र १

मलाई पनि आमाको कुराले चस्स बिझ्यो ।

नेपालका धेरैका छोराछोरी अहिले विदेशमै छन् । उनीहरू फर्कने आशा क्रमशः घटिरहेको छ । छोराछोरी विदेश भएपछि बाबुआमा जानु ठीकै हो । आफ्नो देशमा योग्यता र क्षमता अनुसारको रोजगारी र पारिश्रमिक  नपाएपछि जहाँ पाइन्छ त्यहाँ जानु पनि ठीकै हो । तर बाबुआमा यसरी विदेश गएपछि गरिआएका तिथि, श्राद्ध, पूजाआजा, धर्मसंस्कृति, रीतिरिवाज, परम्परा धान्न त गाह्रो हुन्छ ।

विदेशको रहनसहन, हावापानी र अन्नले पुष्ट हुँदै आएको शरीरले विदेशी संस्कारको अबलम्बन गर्नु नौलो पनि होइन । म आफैं पनि धेरै पटक विदेश गएको छु, बसेको छु । विदेश बसेका बेलामा परम्परागत रीतिथितिका काम गर्न नपाएको अनुभव गरेको छु ।

आमाले त आधुनिक पश्चिमी संस्कृतिलाई त्यति धेरै बुझ्नु भएको पनि छैन । यदाकदा छोराहरु विदेशबाट घर आएको बेलामा गरेका गफ र एक पटक एक महिना आफैं अमेरिका बसेर देखेको बाहेक पश्चिमी संस्कृति बारे आमाले बुझ्नु भएको पनि छैन । एकातिर अध्ययन नै नगरेको विषय र अर्कोतिर जीवनभर नगरेको कामबारे जानकारी हुने कुरा पनि भएन ।

संस्कार सबैको लागि प्यारो हुन्छ । संस्कारले शरीर र मन शुद्ध बनाउने विश्वास सबै धर्मावलम्बीले गरेका हुन्छन् । हामी हिन्दुहरु मरेपछि कर्मको आधारमा सबै प्राणीले स्वर्ग वा नर्क जाने कुरा गर्छौं भने मानव जुनीमा गरेका श्रेष्ठ कर्महरुका आधारमा मुक्ति नै पाइन्छ भन्ने विश्वास गर्छौं । स्वर्ग र मुक्ति सत्कर्मले मात्र पाइन्छ । सत्कर्म गर्दा पाइने स्वर्गमा कर्मफल भोग गरुञ्जेल बस्न पाइन्छ भने सत्कर्म मध्येमा पनि उत्कृष्ट कर्म गर्नेहरुले मुक्ति नै पाएछन् र मुक्ति पाएपछि फेरि जन्म मृत्युको चक्रमा पर्नु पर्दैन ।

हाम्रै जस्तो क्याथोलिक क्रिश्चियनहरु पनि राम्रो काम गर्नेहरु स्वर्ग जान पाउने विश्वास गर्छन् । बाइबलले स्वर्गको कल्पना गरेको छ । तर, हिन्दुहरुको जस्तो मुक्तिको कुरा बाइबलमा पाइँदैन । स्वर्ग गएपछि आफ्नो परिवारका पहिले स्वर्ग जानेहरुसँग भेट गर्न पाइन्छ भन्ने विश्वास उनीहरु गर्दछन् । हामीले श्राद्ध गर्दा मृत पितृहरुलाई सन्तुष्ट बनाउन पानी र अन्न दिए झैं क्रिश्चियनहरु पनि मरेका पितृहरुले मन पराउने खाना खाएर सम्झना गर्दछन् । आफन्तहरुलाई बोलाएर खुवाउने र गरिब गुरुवाहरुलाई रुचि र क्षमता अनुसार दिने गर्दछन् । लामै समय क्रिश्चियन धर्मावलम्बीहरुको देशमा बसेकाले मैले यी सबै देखेको छु । त्यति हुँदा पनि कता कता आफूले गर्ने गरेका काम गर्न नपाउँदा र काम गर्ने वातावरण नदेख्दा भने विचलित पनि हुने गरेको छु ।

पात ल्याएर आमालाई दिएको दिनमा पनि म दिनभरि अफिस गएँ । बेलुका घर आउँदा आमाले सबै पात गासिसक्नु भएछ । टपरी, दुना, बोताको खात लागिसकेछ । श्राद्धको लागि चाहिने दुना, बोता, चारकुने, पाँचकुने टपरी गासिसकेकोमा आमा प्रसन्न हुनुभएको देखें ।

श्राद्ध गर्न पात ल्याइदिँदा, श्राद्धका सामान ठिक्क पारिदिँदा, दिदीबहिनी भाञ्जाभाञ्जीलाई निम्ता गर्दा आमा प्रसन्न भएको अनुभवले, आमाका चाउरी परेका छाला र अनुहारमा देखिएको प्रसन्नताका चिह्नले म पनि आमाको खुसीमा खुसी मिलाइदिन्छु ।

तर, मेरो भित्री मन भने टोलाइरहेको हुन्छ । म आफैंलाई खिन्न भावले भन्न थाल्छु – म कति अभागी भएको छु । परम्परा अनुसार कुलले गर्दै आएको कामलाई निरन्तरता नदिने सन्तानलाई जन्म दिएकोमा म पापी भएको छु । हिन्दु शास्त्रका वचन अनुसार श्राद्ध नपाउने पितृहरुले नरक भोग गर्नुपर्छ भन्ने सुनेको छु । म त नरक पर्ने भएँ भएँ, मेरा पितृहरुलाई पनि भोकै बस्नु पर्ने र नरकमै बसिरहनुपर्ने भयो । मेरै पालामा यस्तो हुनु परेकोमा खल्लो अनुभव गरें ।

अनि परिवेश र सामाजिकताले क्रमशः बाँध्दै ल्याएको वास्तविकता सम्झिएँ । अनि मनै मन प्रश्न गर्न थालें – के मेरो संस्कृति अब नासिँदै जान्छ ? के मेरै पालादेखि नयाँ संस्कृति र परम्परा सुरु हुन्छ ?