५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरले तोक्यो नौ तालको मापदण्ड



फेवातालकाे मनोरम दृश्य
फेवातालकाे मनोरम दृश्य
अ+ अ-

पोखरा । लामो समयदेखिनिकै चर्चा र विवादको रुपमा रहेको पोखराको फेवाताललगायत नौ तालको मापदण्ड अन्ततः पोखरा महानगरले टुग्याङ्एको छ । बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले फेवातालसहित नौवटै तालको मापदण्ड निर्धारण गरेको हो ।

लामो समयदेखि फेवातालको मापदण्ड कति भन्ने विषयमा विवाद बन्दै आएकामा हिजोको सो बैठकले फेवातालको मापदण्ड ३० मिटरकायम गरेको हो । फेवातालको मापदण्ड र सिमाङ्कनको विषयमा अनधिकृत संरचना बन्दै गएको भन्दै २०६८ असार २३ गते खगेन्द्र सुवेदीलगायतले सर्वोच्चमा रिट हालेका थिए । सो रिट उपर सर्वोच्चले २०७५ वैशाख १६ गते तिनै वटा तहको सरकारलाई निर्देशनात्मक आदेश दिएर विवादलाई टुङ्गो लगाउन भने पनि यसको विवाद टङ्गिन सकेको थिएन ।

सर्वोच्चको आदेशअनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्दा खेप्दै आएको पोखरा महानगरले ढिलै भए पनि मापदण्ड तोकेको छ । मापदण्ड ६५ मिटर र ३० मिटर विषयमा विवाद रहँदै आएको थियो । मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । संयोजक अधिकारीले भन्नुभयो, “हामीले अहिलेसम्म विज्ञ, सरोकारवालालगायतका विभिन्न समितिबाट प्राप्त दर्जन बढी प्रतिवेदनको अध्ययनलाई विश्लेषण गरेर आधार मान्दै मापदण्ड ३० मिटरमा कायम गर्न हुन्छ भनी सिफारिस गर्यौँ र सोही बमोजिम नै तोकिएको हो ।” अहिलेको मापदण्ड प्राकृतिक न्यायको सिद्धान्तलाई समेत आधार मानेर तोकिएको उहाँको भनाइ छ ।

“यस अगाडिका विज्ञका राय तथा प्रतिवेदनले उठाएका विषय वस्तु अहिलेको वास्तविक भौगोलिक अवस्थितिलगायत बहुपक्षीय अवस्थालाई हेरेर हामीले यो निर्णय गरेका हौँ, यो प्राकृतिक न्याको सिद्धान्तमा आधारित छ” अधिकारीले भन्नुभयो । उहाँका अनुसार बेगनाश र रुपातालको मापदण्ड पनि एकसय मिटरबाट ५५ मिटर कायम गरिएको छ । तत्कालीन लेखनाथ नगरपालिकाले यस क्षेत्रका तालको मापदण्ड १०० मिटर तोकेको थियो ।

अरु दीपाङ, खास्टे, गुँदे, न्यूरेनी, मैदीतालको मापदण्ड भने २० मिटर कायम गरिएको छ । योसँगै मापदण्ड भन्दा बाहिरका कित्ताको जग्गा फुकुवा गर्नका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको छ । उपत्यका नगर विकास समितिले ताल विकासका लागि भन्दै दशक अगाडि नजिकका जग्गा रोक्का राख्ने निर्णय गरेको थियो ।

तर ताल वरिपरिका स्थानीय जग्गा धनीले अव्यवहारिक मापदण्डले आफूहरुलाई मर्का परेको जनाउँदै न्यायोचित रुपमा मापदण्ड तोकर फुकुवा गराउनुपर्ने र आफूहरुलाई न्याय दिलाउनुपर्ने माग राख्दै आएका थिए ।

पोखरा– ६ गौरीघाटका स्थानीयवासी एवं होटल व्यवसायी हरि भुजेलले महानगरले फेवातालको मापदण्ड समयमै नतोक्दा आफूहरुलाई निकै समस्या भोग्नुपरेको बताउनुभयो ।

मापदण्डको विषयलाई लिएर बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज लिने, ऋण चुक्ताको लागि निकै ताकेता गरेर मानसिक दबाब दिने गरेको अनुभव सुनाउँदै यो निर्णय केही भए पनि राहत महसुस गरेको उहाँको भनाइ छ । नागरिक अधिकारकर्मी रामबहादुर पौडेलले सरकारले ६५ मिटर लागू गरेर मुआब्जा दिन नसक्ने भएपछि ३० मिटर कायम गरेर यसको कार्यान्वयनमा जान उचित निर्णय भएको बताउनुभयो ।

“स्थानीय लामो समयदेखि अन्योलमा छन्, कि ६५ मिटर कायाम गरेर मुआब्जा दिनुपर्‍यो होइन भने समसामयिक रुपमा अहिले गरिएको निर्णय ठिक छ, यसमा विवाद गर्नुभन्दा अब यसलाई कार्यन्वयन गरेर अघि बढ्दा न्यायोचित देखिन्छ” पौडेलले भन्नुभयो । यसअघि सरकारद्वारा गठित फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्शाङकन समितिले तयार पारेको प्रतिवेदन २०७७ फागुन २ गते नेपाल सरकारलाई पेस गरेको थियो ।

तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गरेको थियो । त्यस लगत्तै गत फागुन १७ गते पहिलो पटक राजपत्रमा फेवातालको चार किल्ला र सिमानासम्बन्धी विवरणसहितको सूचना प्रकाशन भएको थियो । नेपाल राजपत्रको खण्ड ७० भाग ५ मा फेवातालको क्षेत्रफललाई ११ हजार २५५ रोपनी ११ आना एक पैसा (५.७२६ वर्गकिलोमिटर) कायम गरिएको छ । (रासस, जमुना वर्षा शर्मा)