२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगी व्यवसायीको गुनासो : विद्युत् छ, उपयोगी छैन



अ+ अ-

विराटनगर । विद्युत् प्रसारण लाइन कमजोर भएका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा ‘ट्रिपिङ’ नोक्सानी बढेको भन्दै उद्योगी–व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । ‘सर्किट चेन’ले भार थाम्न नसक्दा बारम्बार दोहोरिने ट्रिपिङले उत्पादनमा समस्या हुने गरेको उद्योगीहरूले गुनासो गरेका हुन् ।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले प्रशस्त विद्युत् भएर पनि उपभोग गर्न नसकेको बताउनुभयो । उहाँले ठूला–ठूला उद्योग स्थापना हुने क्रम बढ्दै जाँदा कोरिडोर क्षेत्रमा प्रसारण लाइनले भारवहन गर्न नसक्ने स्थिति आइसकेको बताउनुभयो । जसका कारण दैनिक सात करोड बराबरको क्षति बेहोर्नु परेको अध्यक्ष मुन्दडाको भनाइ छ ।

कच्चा पदार्थ प्रशोधनमा रहेका बखत विद्युत् कटौती भए वा ‘हल्ट’ हुन गए चालू घानी नै डिफल्ट हुने तर्क मुन्दडाको छ । पाँच सय उद्योग रहेको करिडोरमा एकै पटक सबै मिल मेसिनरी खराबी हुने गरी विद्युत् ट्रिपिङ हुने गरेको उद्योगीहरूको गुनासो छ । मासिक दुई अर्ब बढीको क्षति विद्युत्का कारणले बेहोर्नु परेको भन्दै उद्योगीहरूले तत्काल प्रसारण लाइन स्तरोन्नति गरिनुपर्ने माग गरेका छन् ।

औद्योगिक करिडोरमा दैनिक चार पटकसम्म ट्रिपिङ हुने गरेको गुनासो छ । ‘प्रडक्सन प्रोसेसिङ’मा रहेको कच्चा पदार्थ ध्वस्त हुन्छ, अर्का उद्योगी पवन सारडाले भन्नुभयो, “विद्युत् त उत्पादन भयो तर प्रसारण लाइन स्तरोन्नति भएन, त्यसले उद्योगीलाई नै नोक्सान पुग्नेभयो । ”उद्योगीको चासो सम्बोधन गर्नकै लागि नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनलाई ओ–थ्रिबाट डग कन्डक्टरमा स्तरोन्नति गरिरहेको भए पनि आवश्यक ट्रान्सफर्मर राख्ने ठाउँ नै नपाउने गरेको दाबी गर्दै आएको छ तर उद्योग सङ्गठन मोरङका अध्यक्षले राज्यको निकायले स्तरोन्नति गर्न नसकेको र ट्रान्सफर्मर राख्न नसकेको भन्न नपाउने बताउनुहुन्छ । वस्तु उत्पादन गरेपछि बिक्री गर्ने माध्यम बनाउन नसक्नु प्राधिकरणको कमजोरी रहेको सङ्गठनका अध्यक्ष प्याकुरेलको बुझाइ छ ।

अध्यक्ष प्याकुरेलले दैनिक तीन–चार पटकको ट्रिपिङमा २० प्रतिशतसम्म कच्चा पदार्थ नोक्सान हुने दाबी गर्नुभयो । प्लास्टिकका मझौला उद्योगले दैनिक ७५ देखि एक लाखसम्मको कच्चा पदार्थ गुमाइरहेको उहाँको गुनासो छ । विद्युत् ट्रिपिङमा प्लास्टिक, सिमेन्ट र फलाम उद्योगलाई धेरै नोक्सानी पर्ने गरेको बताइन्छ । उद्योगी एवं बन्धन सिमेन्टका सञ्चालक मनीष मारुले दैनिक दुई करोड बराबरको क्षति प्रदेश १ का १३ सिमेन्ट उद्योगले बेहोर्दै आएको दाबी गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणको दुहवी ग्रिडका प्रमुख राजेश रेग्मीले प्रसारण लाइनका कारण भार थेग्न नसक्ने अवस्था रहेकोले समस्या परिरहेको बताउनुभयो । अहिले दुहवी ग्रिडबाट प्रदेश १ मा २३३ मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । यो मागअनुसार तलमाथि हुने गरेको छ । दुहवी ग्रिडबाट १५९ मेगावाट अनारमनीबाट ५२ मेगावाट र दमकबाट ३२ मेगावाट विद्युत् वितरण भइरहेको छ ।

काबेली करिडोरअन्तर्गत १६५ मेगावाट विद्युत् पनि ग्रिडमा थपिएको छ । माथिल्लो तामाकोसीबाट आउने ६५ मेगावाट विद्युत् पनि ग्रिडमा जोडिएको छ । दुहवी ग्रिडले नेपालमै विद्युत् मागभन्दा बढी भएकाले भारतको कटैयाबाट अहिले विद्युत् लिनु परेको छैन । समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।