६ श्रावण २०८३, बुधबार
,
Latest
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्तीभर बाघको त्रास



फाईल फोटो
अ+ अ-

नेपालगन्ज । एक महिनाअघि बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम गाभर मध्यवर्ती क्षेत्रमा बाघ देखिन थालेपछि निकुञ्ज प्रशासनले क्यामेरा जडान गर्‍यो । उक्त क्षेत्रमा बाघ आउजाउ बढिरहेकाले वन प्रवेश नगर्न निकुञ्जले आग्रहसमेत गरेको थियो । तर, त्यसको केही दिनमै गाभर क्षेत्रमा सुस्त मनस्थितिका एक जनाले बाघले आक्रमणबाट ज्यान गुमाए । एक साताअघि पनि गोठाला गएका गाभरका तीन महिला बाघको आक्रमणमा जोगिएका थिए ।

त्यस क्षेत्रमा परिचालन गरिएको हात्ती र निकुञ्जका कर्मचारीका कारण महिलाको ज्यान जोगिएको थियो । ‘बाघ देखिन थालेदेखि नै वन क्षेत्रमा प्रवेश नगर्न आग्रह गर्दै आएका छौं । एक जनाको ज्यान गइसक्दा पनि वनभित्रै मान्छे प्रवेश गरिरहेका छन्,’ बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले भने, ‘अस्तिको घटनामा हात्तीमा चढेका हाम्रा कर्मचारीले बाघ नदेखेको भए जे पनि हुन सक्थ्यो ।’ उनका अनुसार बाघको बासस्थानमा मानिसको प्रवेश रोक्ने हो भने बाघले आक्रमण गर्दैन ।

निकुञ्ज क्षेत्र र मध्यवर्ती वनले घेरिएको गाभर गाउँका स्थानीयमा एक महिनादेखि बाघको त्रास छ । निकुञ्जमा बाघको संख्या बढेको अनुमान छ । त्यस क्षेत्रमा दैनिक दुईवटा वयस्क बाघ देखिने गरेका छन् । तर, निकुञ्ज अधिकारीहरू बाघको संख्या बढ्दैमा मानव बस्तीलाई खतरा नहुने दाबी गर्छन् । यस वर्ष बाघका कारण जति घटना भएका छन्, ती सबै वन क्षेत्रमा भएको अधिकृत शाहले बताए । ‘बाघले मान्छेलाई आक्रमण गरेको घटना विश्लेषण गर्दा गाउँ पसेर आक्रमण गरेको देखिँदैन,’ उनले भने, ‘त्यसैले निकुञ्ज र वन क्षेत्रका सर्वसाधारणले वनमाथिको आफ्नो निर्भरता कम गर्नुपर्ने हुन्छ ।’

सन् २०१८ को गणनाअनुसार बाँके निकुञ्जमा २१ वटा वयस्क पाटे बाघ थिए । चालु आर्थिक वर्षमा बाघ गणना गर्ने कार्यक्रम छ । १० वर्ग स्क्वायरभन्दा कम क्षेत्रमा बाघ बस्दैन । एउटा बाघले २० देखि ४ सय हेक्टरसम्म आफ्नो आधार इलाका बनाउन सक्छ । बाघको त्रास बढेपछि निकुञ्ज प्रशासनले राप्ती सोनारी गाउँपालिकाका जनप्रतिनिधिसहित गाभरका स्थानीयसँग छलफल गरेको छ । छलफलकै क्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख तथा वन्यजन्तु विज्ञ डा। रवीन कडेरियाले यस वर्ष बाघका कारण २४ घटना भएको बताए । तर, ती सबै घटना वन क्षेत्रमै भएका हुन् । ‘बाघले आक्रमण गरेका सबै घटनाको अध्ययन गर्दा हिँडिरहेको मान्छेलाई बाघले आक्रमण गरेकै छैन । गाउँमा पनि पसेको छैन,’ उनले भने, ‘बाघको बासस्थानमा गएर घाँस काट्ने क्रममा आक्रमण भएको देखिन्छ ।’

डिभिजन वन कार्यालय बाँकेका सहायक संरक्षण अधिकृत गणेशबहादुर खड्काले बाघले आक्रमण गरेको क्षेत्र निकुञ्ज रहेको बताए । बाघको संख्या बढेसँगै मध्यवर्तीर् क्षेत्रमा पनि देखिने गरेको सूचना आउने गरेको उनको भनाइ छ । राप्ती सोनारी गाउँपालिकाका प्रमुख लाहुराम चौधरीले बाघबाट जोगिन वन क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरे । स्थानीय चन्दा लामाले भने गाईबस्तु पाल्न, चरिचरन गर्न वन क्षेत्रमा जानुपर्ने बाध्यता रहेको गुनासो गरिन् । ‘बाघले बस्ती नै आतंकित छ,’ उनले भनिन्, ‘रातको समयमा पनि बाघ आउँदा त्रास बढेको छ ।’समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।