धादिङ I धादिङ जिल्लामा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ । मस्र्याङदी–स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्वीचिङ स्टेशनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।
तनहुँस्थित तल्लो मस्र्याङदी विद्युत्गृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रिने ९लुप इन० र बाहिरिने ९लुप आउट० छ । प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा ‘लुप इन’ गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइने छ । हुवासिन सिमेन्टले २० मेगावाट विद्युत् लिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
दशैँको समयमा विद्युत्को माग कम हुने भएकाले स्वीचिङ स्टेसनलाई चार्ज गर्न अनुमति दिइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । अरु समयमा मस्र्याङदी–स्युचाटार १३२ केभी ट्रङ्क लाइन बन्द गर्न सक्ने अवस्था नभएकाले यो समय मिलाएर चार्ज गर्न दिइएको थियो । उहाँले भन्नुभयो, “विजया दशमीको दिन स्वीचिङ स्टेसन चार्ज भयो, अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत् जडान गर्न सक्नेछ ।”
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन निर्माण गर्न गत वर्ष सुरु गरेको थियो । कम्पनीले स्वीचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२र१० केभीको सबस्टेसन निर्माण गरेको छ । प्राधिकरणले स्वीचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो ।
कार्यकारी निर्देशक घिसिङका अनुसार स्वीचिङ स्टेसनबाट स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिनेछ । स्वीचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगलाई विद्युत् उपलब्ध गराउन पूर्वाधार तयार भएको र त्यहाँबाट स्थानीयरूपमा विद्युत् आपूर्ति गरिने प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “त्यस क्षेत्रको विद्युत् आपूर्तिसमेत विश्वसनीय हुनेछ ।” रासस











