१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधुनिकतासँगै थारु परम्परागत नृत्य हराउँदै



अ+ अ-

मेनका चौधरी

गुलरिया (बर्दिया), ५ भदौ । पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका होटलमा आउने पाहुनालाई थारु नृत्य देखाएर आम्दानी गर्ने बर्दिया ठाकुरद्वाराकी जुनकुमारी चौधरीलाई थारु नृत्य हराउन थालेकामा दुःख लागेको छ ।

विदेशी संस्कृतिको सिको, आधुनिक पढाइलेखाइ, युवामा पुरानो संस्कृति अनुसरण गर्न लाज मान्ने र रोजगारीका लागि बिदेशिने प्रवृत्ति देख्दा उहाँ चिन्तित हुनुहुन्छ । नेपालमा बसोबास गर्ने थारु समुदाय संस्कृति र परम्परामा धनी मानिन्छ ।

सो समुदायका पुर्खाले धेरै प्रकारका नाचगान विकसित गरे पनि आजकाल समुदायमा भएको शैक्षिक प्रगति र बदलिँदो आधुनिकतासँगै थारु नृत्य हराउन थालेको उहाँको बुझाइ छ । उहाँ थप्नुहुन्छ – “हामी युवाहरु पर्यटकीय क्षेत्रका होटलमा नाच देखाएर आम्दानी गर्छौंँ तर महँगा खाले बड्का, कठघोरी, झर्रा र मुडरौवा नाच हिजोआज लोप हुन थालेकामा दुःख लाग्छ ।”

नेपालमा मानव सभ्यताको स्थापनाकालदेखि नै थारु समुदाय बस्दै आएको पाइन्छ । थारु समुदायका सन्तान हाल नेपालका तराईका सबै जिल्ला र पहाडी सहरमा पनि छरिएर बसेका छन् ।

परम्परागत शैली त्याग गर्न नसके राज्यको मूलधारबाट अलग्गिने चिन्ता र समाजको बदलिँदो परिस्थितिसँगै शैक्षिक प्रगतिका कारण हिजोआज थारु समुदायमा परिवर्तन आउन थालेको पाइन्छ ।

पुर्खाहरुले गाईभैँसी चराउन जङ्गलमा गएका बेलामा हातमा लाठी लिएका गोठालाले समय व्यतीत गर्न गरेको क्रियाकलाप थारु समुदायमा लाठी नाचको नामले स्थापित हुन पुगेको बताइन्छ । थारु समुदायमा नाच्ने बेलामा हातमा जे चिज लिएर नाच्ने गरिन्छ त्यस नाचलाई त्यही नाम दिने प्रचलन छ ।

हिजोआज समय र पर्वअनुसार नाचिने सखिया, झुम्रा, लाठी, मयुर, हुर्दुङ्वा, देशौरे, दङ्गाहा र राना थारुहरुमा साझा नृत्य बनेको सूर्यपटुवा गाविसका कुँवर थारुले बताउनुभयो । बडादसैँका अवसरमा नाचिने हुर्दुङ्वा नाच आजकाल देखिन छाडेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

चौधरी भन्नुहुन्छ – “समुदायमा आएको आधुनिक परिवर्तन र वैदेशिक रोजगारीका कारण युवा वर्ग बिदेशिने बाध्यात्मक अवस्थाले पनि थारु नाच हराउँदै जाने कारण बनेको छ ।” थारु नाच जानेका पुर्खाबाट सस्ंकृति हस्तान्तरण र युवाबाट संस्कृति ग्रहण गर्ने परिपाटीमा कमी भएको उहाँ बताउनुहुन्छ । थारु नृत्यको संरक्षण गरिदिन उहाँले सबैलाई आग्रह गर्नुभयो । रासस




भर्खरै