• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   नक्कली सुनको मुर्ति देखाई ठगी गरेको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ ★   काँग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन: सांसद गिरी ★   सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी ★   संसदको आकस्मिक समय: बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग ★   युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री ★   बिहीबारसम्म मनसुन थप सक्रिय हुने ★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी ★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन ★   आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी ★   एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

फुटबल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग



–कुमार चौलागाई

काठमाडौँः ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ ।

महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ क्लबलाई वार्षिक रु चार लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको महानगरका सूचना अधिकारी रुद्र गौतमले जानकारी दिनुभयो । त्यसैगरी जिल्लाका ‘बी’ डिभिजनका क्लबलाई वार्षिक रु तीन लाख र ‘सी’ डिभिजन क्लबलाई वार्षिक रु दुई लाख उपलब्ध गराउने निर्णय महानगरले गरेको उहाँले जानकारी दिनुभयो ।

नगर परिषद्को बैठकले फुटबल विकासमा लागेका शीर्ष डिभिजनका क्लबलाई आर्थिक सहयोग गर्न प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई महानगरको बोर्ड बैठकले पारित गरेको हो । त्यसैगरी जिल्लाका ‘ए’ डिभिजन क्लबहरुले राष्ट्रियस्तरको कुनै पनि प्रतियोगिता जिते उपाधिपिच्छे थप रु चार लाख महानगरले उपलब्ध गराउनेछ ।

बोर्ड बैठकले थ्रीस्टार क्लबलाई रु २८ लाख आर्थिक सहयोगसमेत उपलब्ध गराउने निर्णय गरेको छ । गत वर्ष सात वटा प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै महानगरले प्रत्येक उपाधि बापतको रु चार लाखका दरले रु २८ लाख क्लबलाई दिने निर्णय गरेको हो । यसअघि काठमाडौँ महानगरले जिल्लाका छ वटा ए डिभिजन क्लबलाई वार्षिक रु १० लाख दिने यसअघि नै घोषणा गरिसकेको छ ।

फुटबलको विकासका लागि स्थानीय तहहरुले अग्रसता देखाउनु सकारात्मक भएको बताउँदै एन्फा महासचिव इन्द्रमान तुलाधरले भन्नुभयो, “खेलकूदको विकासका लागि राजनीतिक अग्रसरता हुनु सरहानीय छ ।”

सहयोग बढाउँदै लैजान्छौँ– महानगर प्रमुख महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फुटबलको विकासका लागि महानगरले सहयोग उपलब्ध गराएको बताउनुभयो । रासससँग कुरा गर्दै महर्जनले भन्नुभयो, “खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्सहानका लागि नगरसभाबाट पारित गरी हामीले सहयोग उपलब्ध गराएका हौँ, सहयोगले फुटबलको विकासमा लागि मद्दत पुग्छ ।”

अहिले ए डिभिजन लिगसमेत शुरु भएको बताउँदै उहाँले महानगरको सहयोगले ती क्लबलाई लिगमा सहभागिता जनाउन थप सहज भएको प्रतिक्रिया दिनुभयो । लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा राजनीति र खेल क्षेत्र टाढा भएको बताउँदै अबका दिनमा सहयोग निरन्तर जारी रहने महानगर प्रमुख महर्जनले बताउनुभयो ।