• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   प्रचण्ड सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायो: सांसद शर्मा ★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह

धरहरा निर्माणको शिलान्यास दीपावली अघि



काठमाडौँ, १३ कात्तिक। २०७२ सालकाे विनाशकारी भूकम्पले भत्किएको धरहरा यथावत् छाडेर नयाँ निर्माणका लागि दीपावली अघि नै शिलान्यास गर्नेगरी तयारी शुरू भएकाे छ ।

भत्किएको ‘भीमसेनस्तम्भ’ पुरानै अवस्थामा राखी सुन्धारा क्षेत्रमा अर्को बनाउन जमीन सम्याउने काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । शिलान्यास गर्न सबै तयारी पूरा गरी प्रधानमन्त्रीको समय माग गरिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले  जानकारी दिनुभयो ।

सुन्धारा क्षेत्रको जमीनमुनिबाट नेपाल टेलिकमले टेलिफोनको तार र माथिबाट नेपाल विद्युत् प्राधिकरणले बत्तीको तार लगेकाले काममा समस्या भएको छ । जमीन सम्याउन खन्दा हाल २०० टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिकमको २४ हजार लाइनको तार सुन्धारा क्षेत्रको जमीनमुनिबाट बिच्छ्याइएको छ । टेलिकम र विद्युत् प्राधिकरणलाई तार व्यवस्थापनको अनुरोध गरिसकिएको उहाँले बताउनुभयो ।

धरहरा बनाउन प्रयोग हुने निर्माण सामग्री टुँडिखेलमा राखिएको छ । गोश्वारा हुलाकसँगैको पसलका टहरा हटाए पनि पाल राखेर फेरि व्यापारीले पसल चलाउन थालेका छन् । यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

गत भदौ १७ गते नवौँ पटकमा धरहरा निर्माणको आर्थिक प्रस्ताव खुला भएको थियो । प्रस्तावानुसार निर्माण कम्पनी जिआइइटीसी÷रमन जेभी छानिएको थियो । कम्पनीले रु तीन अर्ब ४५ करोडमा धरहरा निर्माण गर्नेछ । प्राधिकरणको लागत अनुमान रु चार अर्ब ३८ करोड थियो ।
धरहरा पुनःनिर्माणका लागि छ निर्माण व्यवसायीले प्राविधिकसहित आर्थिक प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायीका मात्र स्वीकृत भएको थियो ।

तत्कालीन मुख्तियार(हाल प्रधानमन्त्रीसरह) भीमसेन थापाले आफ्नी पत्नी ललितत्रिपुरासुन्दरी(मृत्यु विसं १८८८)का सम्झनामा विसं १८८८ पछि बनाएको भीमसेनस्तम्भ तीन वर्षअघिको भूकम्पसहित चार पटक ढलिसकेको छ । धरहरा पटक पटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको नयाँ बनाउने प्राधिकरणको तयारी छ ।

यसअघिको धरहरा नौ तलाको थियो । विसं १८८८अघि नै बागदरबार(हाल हरिभवन भनिने)मा निजी रुपमा थापाले धरहरा बनाएको इतिहासकार प्रा दिनेशराज पन्तले बताउनुभयो । उहाँका अनुसार विसं १८९० को भूकम्पमा दुवै धरहरा भत्केकामा बागदरबारभित्रको धरहरा नबनेको तर भीमसेनस्तम्भ भने पुनःनिर्माण गरिएको थियो । प्रधानमन्त्री श्री ३ जुद्धशम्शेरले विसं १९९० मा एघारतलेबाट नौतलेमा त्यसलाई झारेको बताइन्छ ।

नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भ¥याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजूरसहित ७२ मिटर अग्लो बन्नेछ ।

भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । यसअघि टेलिकमलाई धरहरा बनाउने गरी जिम्मेवारी दिइए पनि पछि हटेको थियो । टेलिकमले आफैँ नबनाए पनि रु एक अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

‘मेरो धरहरा मै बनाउँछु’ अभियानअन्तर्गत धरहरा पुनःनिर्माण कोषमा रु २४ करोड जम्मा भइसकेको छ । बाँकी स्रोत सरकारले नै व्यहोर्ने भएको छ । पुरातत्व विभाग र टेलिकम दुवैले बनाउन नसक्ने भएपछि प्राधिकरण आफैँले बनाउने निर्णय गरेको सहसचिव मानन्धरले बताउनुभयो ।

धरहराले गोश्वारा हुलाक कार्यालयसमेतको जग्गा खाली गर्ने भएको छ । हुलाक कार्यालयलाई भवन खाली गर्न पत्राचार गरिसकिएको प्राधिकरणले जनाएको छ । कुल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइनेछ । हाल हुलाक रहेको स्थानमा बगैँचा र पार्किङ स्थल निर्माण गरिनेछ ।

धरहरा बनाउन शुरु गरिहाल्ने र हुलाकलाई हटाउने काम जारी राखिने प्राधिकरणले जनाएको छ । धरहरा निर्माणसँगै सुन्धारामा पानी आउने व्यवस्था मिलाइने भएको छ । धारामा कसरी पानी खसाल्ने भनी अध्ययन भइरहेको सहसचिव मानन्धरले सुनाउनुभयो ।

पूर्णप्रसाद मिश्र,रासस