• २९ असार २०८१, शनिबार
  •      Sat Jul 13 2024
  •   Unicode
Logo

विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’….



Date: 1965-1966 Location: Kathmandu, Kathmandu Description: View along Bagmati River in central Kathmandu.

काठमाडौं । हाम्रा हजुरबा पुस्ताले ‘मोहोर पाथी घिऊ खाएको’ अर्थात एक मोहोरको एकपाथी घिऊ खाएको भन्दा हामीलाई नै एकादेशको कथाजस्तो लाग्छ । हामी भन्दा मात्र दुई पुस्ता अघिकै कुरा हामीलाई पत्याउन हम्मे हम्मे लाग्छ । ४०—४५ वर्षअघि हामीले देखेका र भोगेका कुरामात्रै अहिले गर्ने हो भने अरुले पत्याउन त परै जावस् हामी आफैंले पनि पत्याउन हम्मे हम्मे पर्ने भईसक्यो ।

कुरा २०३९ सालको वर्षायामको हो । म सरकारी स्कुलमध्येकै अव्वल स्कुल विश्व निकेतन मावि त्रिपुरेश्वरमा कक्षा ७ मा पढ्थें । सोही वर्ष म सो स्कुलमा प्रवेश परीक्षा उतिर्ण भई भर्ना भएको थिएँ । कक्षामा मसंग अनिल अग्रवाल, अर्चना प्याकुरेल, सरोज सुरेका, निश्चल चापागाई, सुनिता श्रेष्ठलगायत ४० जना जति साथी थिए ।

बागमती नदीतिर छिँडीको कोठामा हाम्रो ७ कक्षाको सेक्सन ‘सी’ थियो । ‘ए’ र ‘बि’ भने हाम्रो कक्षाको माथिल्लो तल्लामा थियो । राणाकालीन सत्तल नै हाम्रो स्कुल थियो । फलामे डण्डी राखिएको सानो झ्याल भएको हाम्रो कक्षाको झ्याल मुनि बागमती किनारमा चारपाटे ढुंगा विच्छयाएको झण्डै १० फिट चौडाईको पैदल बाटो थियो । त्यसको छेउमा खोलातर्फ हरेक १०/१० मिटरमा ढुंगैढुंगाले बनाएको गोलो गोलो भकारी थियो । केही पर दुईवटा भकारीको बीचमा नागको टाउको कुदिएको ‘ब्रम्हनाल’ बनाएर बागमतीमा तेर्सो गरि राखिएको थियो ।

अर्थात हाम्रो स्कुलको पछाडि बागमती किनारमा विगतमा मुर्दा पोल्ने गरिने रहेछ । ७ देखि १० कक्षा (२०४०—२०४३ )सम्म पढ्दा त्यहाँँ मुर्दा पोलेको देखिएन । शायद स्कुलका विद्यार्थीलाई दुर्गन्ध हुन्छ भनेर होला । तर साना केटाकेटी मरे भने हाम्रै स्कुल पछाडि बागमतीको किनारमा खाल्टो खनेर गाड्ने गरेको मैले पनि देखें । तर १ कक्षादेखि सोही स्कुलमा पढ्ने मेरा अरु साथीहरु सुधिर सुवाल, सुरेश डंगोल, नरेन्द्र श्रेष्ठ, कृपा आचार्य, प्रतिक अधिकारी, सुनिल राणा लगायतले भने यस्तो घटना धेरैचोटी देखेका रहेछन् । बाढीले मान्छे बगाएर ल्याएको त कति देख्यौं देख्यौं हामीले ।

हाम्रो स्कुलको केही पुर्वतिरको बागमती र इच्छुमती अर्थात टुकुचाको दोभान ‘कालमोचन घाट’ र पश्चिमतिर टेकु दोभानमा मुर्दा पोलेको हामीले धेरैचोटी देखेका थियौं । कहिलेकाँही त टेकु दोभानको धुवाँ हाम्रो कक्षासम्म पनि आईपुग्थ्यो ।

राणाकालीन समयमा हिन्दु धर्मावलम्वीहरुको आराध्यदेव पशुपतिनाथलाई आधार बनाई त्यस मन्दीरको पुर्व भएर बग्ने बागमती नदीको दायाँबायाँ मानिसको बसोबास नभएको र अरु सानातिना नदीको संगमस्थल ‘दोभान’ तिर घाट बनाएर मुर्दा पोल्ने चलन चलाएको हुनुपर्छ ।
किनकी हामी स्कुलमा पढ्ने बेलासम्म बागमती नदीको दायाँबायाँ ढुंगाको गोलो भकारी र कतै कतै ब्रम्हनाल पनि हामीले देखेकै हो । अहिले त्यहाँ न त भकारी भेटिन्छन, न ब्रम्हनाल नै । बागमती किनारका भकारी र ब्रम्हनाल त अहिले व्यक्तिगत घर कम्पाउण्डमा छिरिसकेका छन् ।

असार र साउनमा पानी परेको दिनमा कक्षामा को सर र को मिसले के पढाउनुभयो भन्दा पनि बागमती किनारतिर झ्याल भएको बेन्चमा बस्ने हामी आधा जसो विद्यार्थीको ध्यान ढुंगाको भकारी नाघेर कक्षाको झ्याल छेउछाऊ आइपुग्ने धमिलो पानी अर्थात बाढीमा बढी केन्द्रीत हुन्थ्यो । अनि हामी झ्यालको फलामे बार (ग्रील) बाट हात छिराएर बाढीलाई छुने गथ्र्याै ।

त्यतिखेरको बागमतीको बाढी पो बाढी त । वारी विश्व निकेतन स्कुलको भित्तोदखि पारी कुपण्डोलको गुसींगालको तण्डुकार र महर्जनहरुको खेतसम्म अर्थात झण्डै ५०० फिट चौडाई ओगटेर बगेको बाढी पो बाढी ।

त्यतिखेर बागमती मात्रै होइन, विष्णुमति, मनोहरा नदी गहिरो थिएन, चौडा थियो । त्यसैले मज्जासंग खुलेर बग्न पाउँथ्यो । अहिले उपत्यकाका नदीहरु चौडा छैन, गहिरो मात्रै छ, त्यसको दायाँवायाँ करिडोर र सुकुम्बासीले ओगटेका छन र अहिले खुम्चिएर बग्नुपरेको छ ।
उल्टै उनीहरु भन्छन—‘बाढी वस्तीमा पस्यो’ भनेर । वास्तवमा बाढी वस्तीमा पसेको होइन, उसले आफु बग्ने गरेको पुरानो बाटो मात्रै खोजेको हो ।

यसअघि बागमतीमा जम्मा भएको बालुवाले त्यसैका दायाँबायाँका धेरै घर ढलान र प्लास्टर भए । किनारका ढुंगाले बनेका पेटी र भकारीहरु कसैका घरका जग र बगैंचामा सजिए । अनि नदी मात्रै बाँकी भयो । अहिलेको बागमती र वरिपरिका अरु नदीमा आएको बाढी त आधामात्रै बाढी हो । आधा त काठमाण्डौ उपत्यकावासीको भान्छाको जुठो पानी र घरको ढल हो ।

खोला नालामा फोहोर अर्थात दिसा पिसाव गर्न हुँदैन भन्ने संस्कारमा हुर्केका हामी २०४६ सालमा आएको प्रजातन्त्रपछि उपत्यकामा मोफसलबाट आएकाहरुको वस्ती अन्धाधुन्द र अव्यवस्थित रुपमा बढ्नु र घरको शौचालयको फोहोर सिधै ढलमार्फत नदीनालामा मिसाउने प्रवृत्तिले गर्दा खोलानाला दुर्गन्धित त भए नै अनि वर्षातमा आएको पानी इनार, वारी, खेत नहुँदा तिनीहरुले सोस्न सकेनन र शहरमा परेको पानी ढल, पिच र ढलान बाटो हुँदै सिधै खोला नदीमा वग्न वाध्य भएपछि बाढी ठुलो देखिएको मात्रै हो ।

*

बर्षायाममा आएको बाढी कक्षाकोठाको झ्यालबाट हात निकालेर छुँदै अनि हिँउदयाममा नदी सुकेर चउर बनेपछि कक्षाका सबै साथीले साइकल सिकेर हुर्केको ठाउँ हो थापाथली, त्रिपुरेश्वर हुँदै टेकु दोभानसम्मको बागमती नदी । अनि पानी कम र सफा हुँदा स्कुल ड्रेसलाई भकारीमा थुपारेर हामफालेको निलो र कञ्चन पानी भएको बागमती नदी ।

फोटो- सामाजिक संञ्जाल

[email protected]