६ मंसिर २०८१, बिहीबार
,
Latest
विआरआईबारे अनावश्यक विवाद गरेर नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको झलनाथको आरोप प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट उपत्यकामा तीनजना मृतावस्थामा भेटिए विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेलाई अभिनन्दन नेप्से परिसूचक ३१.३१ अंकले गिरावट,कारोबार रकम ८ अर्ब रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार आराध्याको बर्थडे सेलिब्रेशनमा देखिएनन् अभिषेक बच्चन करिब १७ प्रतिशतले राजस्व वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’….



Date: 1965-1966 Location: Kathmandu, Kathmandu Description: View along Bagmati River in central Kathmandu.
अ+ अ-

काठमाडौं । हाम्रा हजुरबा पुस्ताले ‘मोहोर पाथी घिऊ खाएको’ अर्थात एक मोहोरको एकपाथी घिऊ खाएको भन्दा हामीलाई नै एकादेशको कथाजस्तो लाग्छ । हामी भन्दा मात्र दुई पुस्ता अघिकै कुरा हामीलाई पत्याउन हम्मे हम्मे लाग्छ । ४०—४५ वर्षअघि हामीले देखेका र भोगेका कुरामात्रै अहिले गर्ने हो भने अरुले पत्याउन त परै जावस् हामी आफैंले पनि पत्याउन हम्मे हम्मे पर्ने भईसक्यो ।

कुरा २०३९ सालको वर्षायामको हो । म सरकारी स्कुलमध्येकै अव्वल स्कुल विश्व निकेतन मावि त्रिपुरेश्वरमा कक्षा ७ मा पढ्थें । सोही वर्ष म सो स्कुलमा प्रवेश परीक्षा उतिर्ण भई भर्ना भएको थिएँ । कक्षामा मसंग अनिल अग्रवाल, अर्चना प्याकुरेल, सरोज सुरेका, निश्चल चापागाई, सुनिता श्रेष्ठलगायत ४० जना जति साथी थिए ।

बागमती नदीतिर छिँडीको कोठामा हाम्रो ७ कक्षाको सेक्सन ‘सी’ थियो । ‘ए’ र ‘बि’ भने हाम्रो कक्षाको माथिल्लो तल्लामा थियो । राणाकालीन सत्तल नै हाम्रो स्कुल थियो । फलामे डण्डी राखिएको सानो झ्याल भएको हाम्रो कक्षाको झ्याल मुनि बागमती किनारमा चारपाटे ढुंगा विच्छयाएको झण्डै १० फिट चौडाईको पैदल बाटो थियो । त्यसको छेउमा खोलातर्फ हरेक १०/१० मिटरमा ढुंगैढुंगाले बनाएको गोलो गोलो भकारी थियो । केही पर दुईवटा भकारीको बीचमा नागको टाउको कुदिएको ‘ब्रम्हनाल’ बनाएर बागमतीमा तेर्सो गरि राखिएको थियो ।

अर्थात हाम्रो स्कुलको पछाडि बागमती किनारमा विगतमा मुर्दा पोल्ने गरिने रहेछ । ७ देखि १० कक्षा (२०४०—२०४३ )सम्म पढ्दा त्यहाँँ मुर्दा पोलेको देखिएन । शायद स्कुलका विद्यार्थीलाई दुर्गन्ध हुन्छ भनेर होला । तर साना केटाकेटी मरे भने हाम्रै स्कुल पछाडि बागमतीको किनारमा खाल्टो खनेर गाड्ने गरेको मैले पनि देखें । तर १ कक्षादेखि सोही स्कुलमा पढ्ने मेरा अरु साथीहरु सुधिर सुवाल, सुरेश डंगोल, नरेन्द्र श्रेष्ठ, कृपा आचार्य, प्रतिक अधिकारी, सुनिल राणा लगायतले भने यस्तो घटना धेरैचोटी देखेका रहेछन् । बाढीले मान्छे बगाएर ल्याएको त कति देख्यौं देख्यौं हामीले ।

हाम्रो स्कुलको केही पुर्वतिरको बागमती र इच्छुमती अर्थात टुकुचाको दोभान ‘कालमोचन घाट’ र पश्चिमतिर टेकु दोभानमा मुर्दा पोलेको हामीले धेरैचोटी देखेका थियौं । कहिलेकाँही त टेकु दोभानको धुवाँ हाम्रो कक्षासम्म पनि आईपुग्थ्यो ।

राणाकालीन समयमा हिन्दु धर्मावलम्वीहरुको आराध्यदेव पशुपतिनाथलाई आधार बनाई त्यस मन्दीरको पुर्व भएर बग्ने बागमती नदीको दायाँबायाँ मानिसको बसोबास नभएको र अरु सानातिना नदीको संगमस्थल ‘दोभान’ तिर घाट बनाएर मुर्दा पोल्ने चलन चलाएको हुनुपर्छ ।
किनकी हामी स्कुलमा पढ्ने बेलासम्म बागमती नदीको दायाँबायाँ ढुंगाको गोलो भकारी र कतै कतै ब्रम्हनाल पनि हामीले देखेकै हो । अहिले त्यहाँ न त भकारी भेटिन्छन, न ब्रम्हनाल नै । बागमती किनारका भकारी र ब्रम्हनाल त अहिले व्यक्तिगत घर कम्पाउण्डमा छिरिसकेका छन् ।

असार र साउनमा पानी परेको दिनमा कक्षामा को सर र को मिसले के पढाउनुभयो भन्दा पनि बागमती किनारतिर झ्याल भएको बेन्चमा बस्ने हामी आधा जसो विद्यार्थीको ध्यान ढुंगाको भकारी नाघेर कक्षाको झ्याल छेउछाऊ आइपुग्ने धमिलो पानी अर्थात बाढीमा बढी केन्द्रीत हुन्थ्यो । अनि हामी झ्यालको फलामे बार (ग्रील) बाट हात छिराएर बाढीलाई छुने गथ्र्याै ।

त्यतिखेरको बागमतीको बाढी पो बाढी त । वारी विश्व निकेतन स्कुलको भित्तोदखि पारी कुपण्डोलको गुसींगालको तण्डुकार र महर्जनहरुको खेतसम्म अर्थात झण्डै ५०० फिट चौडाई ओगटेर बगेको बाढी पो बाढी ।

त्यतिखेर बागमती मात्रै होइन, विष्णुमति, मनोहरा नदी गहिरो थिएन, चौडा थियो । त्यसैले मज्जासंग खुलेर बग्न पाउँथ्यो । अहिले उपत्यकाका नदीहरु चौडा छैन, गहिरो मात्रै छ, त्यसको दायाँवायाँ करिडोर र सुकुम्बासीले ओगटेका छन र अहिले खुम्चिएर बग्नुपरेको छ ।
उल्टै उनीहरु भन्छन—‘बाढी वस्तीमा पस्यो’ भनेर । वास्तवमा बाढी वस्तीमा पसेको होइन, उसले आफु बग्ने गरेको पुरानो बाटो मात्रै खोजेको हो ।

यसअघि बागमतीमा जम्मा भएको बालुवाले त्यसैका दायाँबायाँका धेरै घर ढलान र प्लास्टर भए । किनारका ढुंगाले बनेका पेटी र भकारीहरु कसैका घरका जग र बगैंचामा सजिए । अनि नदी मात्रै बाँकी भयो । अहिलेको बागमती र वरिपरिका अरु नदीमा आएको बाढी त आधामात्रै बाढी हो । आधा त काठमाण्डौ उपत्यकावासीको भान्छाको जुठो पानी र घरको ढल हो ।

खोला नालामा फोहोर अर्थात दिसा पिसाव गर्न हुँदैन भन्ने संस्कारमा हुर्केका हामी २०४६ सालमा आएको प्रजातन्त्रपछि उपत्यकामा मोफसलबाट आएकाहरुको वस्ती अन्धाधुन्द र अव्यवस्थित रुपमा बढ्नु र घरको शौचालयको फोहोर सिधै ढलमार्फत नदीनालामा मिसाउने प्रवृत्तिले गर्दा खोलानाला दुर्गन्धित त भए नै अनि वर्षातमा आएको पानी इनार, वारी, खेत नहुँदा तिनीहरुले सोस्न सकेनन र शहरमा परेको पानी ढल, पिच र ढलान बाटो हुँदै सिधै खोला नदीमा वग्न वाध्य भएपछि बाढी ठुलो देखिएको मात्रै हो ।

*

बर्षायाममा आएको बाढी कक्षाकोठाको झ्यालबाट हात निकालेर छुँदै अनि हिँउदयाममा नदी सुकेर चउर बनेपछि कक्षाका सबै साथीले साइकल सिकेर हुर्केको ठाउँ हो थापाथली, त्रिपुरेश्वर हुँदै टेकु दोभानसम्मको बागमती नदी । अनि पानी कम र सफा हुँदा स्कुल ड्रेसलाई भकारीमा थुपारेर हामफालेको निलो र कञ्चन पानी भएको बागमती नदी ।

फोटो- सामाजिक संञ्जाल

[email protected]